धनकुटामा एक दिने चलचित्र कार्यशाला आयोजना


ब्युटी न्युज नेपाल
धनकुटा, ११ असार

धनकुटामा एक दिने चलचित्र कार्यशाला सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको सहयोगमा धनकुटाको महालक्ष्मी नगरपालिकाको सभा हलमा यही असार ८ असारमा नेपाली चलचित्रमा पर्या–पर्यटन तथा युवाहरूको भूमिका विषयमा एक दिवसीय कार्यशाला आयोजना गरिएको हो ।

निर्देशक विश्वमणी घिमिरे र कलाकार मुकुन्द मैनालीले कार्यशालामा फिल्म निर्माण, निर्देशन, स्क्रिप्ट लेखन, छायाङ्कन, अभिनय तथा चलचित्रमा पर्यटन र अन्तर्राष्ट्रिय बजार विस्तारबारे प्रशिक्षण दिए ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले धनकुटामा अहिले सम्म यस्तो चलचित्र सम्बन्धी कुनै कार्यशाला नभएको र आज यस कार्यक्रममा उपस्थित हुन पाउँदा आँफूलाई निकै खुसी लागेको बताए । थापाले भने, ‘हामी अहिले आफ्नो रीति रिवाज विर्सदैँ छौं । वास्तवमै यस्तो कार्यक्रम धनकुटामा हुनु भनेको गौरवको कुरा हो । यसले स्थानीय कला साहित्यमा रुचि राख्ने हाम्रा भाइ बहिनीहरूको अतिरिक्त क्षमता अभिवृद्धि लागि यो कार्यशालाले निकै महत्त्व राख्छ । यो कार्यक्रम महालक्ष्मीमा ल्याइ गर्नु भएकोमा तपाईंहरुलाइ धन्यवाद ।’ थापाले कार्यक्रममा सहभागी भएकाहरूलाई नजानेको कुरा सिक्न र लाज नमानी नबुझेका कुराहरू सोध्न आग्रह गरे । यस्तै महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रवराज रायले गाउँमै राम्रा–राम्रा चलचित्र निर्माण गर्न सकिने बताए । उनले भने, ‘चलचित्र क्षेत्रमा इच्छा राख्न चाहने जो कोहीलाई यस कार्यक्रमले निकै सहयोग गर्ने छ । यसबाट चलचित्र के हो र कसरी बन्छ ? कलाकार कसरी बन्ने ? फिल्म कसरी लेख्ने भन्ने विषयमा आजको यस कार्यशालाबाट तपाईंहरुले जान्नुहुने छ भन्ने मैले विश्वास लिएको छु ।’

कार्यक्रममा उपस्थित हुन पाउँदा आँफूलाइ निकै खुसी लागेको नगर उप प्रमुख मञ्जु कुमारी कार्की (अधिकारी)ले बताइन् । उनले भनिन्, ‘आज छुट्टै कार्यक्रममा उपस्थित हुन पाउँदा निकै खुसी लागेको छ । अरू बेलाका कार्यक्रममा राजनीतिक, शिक्षा, स्वास्थ्य र विकास लगायतका कुराहरू हुन्थे तर आज यहाँ चलचित्रको बारेमा कुरा हुने छ । ’

उनले मानिसमा कसैसँग कसैको क्षमता नमिल्ने बताइन् । उनले भनिन्, ‘कसैको कलाकार बन्ने, कसैको गायिका बन्ने, कोहीको पढ्ने फरक प्रतिभा हुन्छ । आफ्नो क्षेत्रमा तपाईंहरुले यो प्रतिबद्धता देखाउनु हुनेछ भन्ने मैले विश्वास लिएकी छु । आज प्रस्तुतिमार्फत पनि तपाईंहरुले आफ्नो लुकेको क्षमता देखाउनु भएको छ ।’

कार्यशालाको पूर्व मन्त्री सुनिलबहादुर थापा, नगर प्रमुख ध्रुवराज राय र नगर उप प्रमुख मञ्जु कुमारी कार्की (अधिकारी) लगायत वडा अध्यक्ष, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति थियो । कार्यशाला सहभागीहरूलाई प्रमुख अतिथि, अतिथि र कलाकार लगायतबाट प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले बाल विवाह सम्बन्धी नाटक प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन धर्मोदय माध्यमिक विद्यालयकी शिक्षिका चन्दा भट्टराईले गरेकी थिइन् ।