मिस ग्राण्ड नेपाल–२०२४को खोजी सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, १० असार

‘मिस ग्राण्ड नेपाल–२०२४’ कार्यक्रमको औपचारिक घोषणा गरिएको छ । आयोजक संस्था उमङ्ग क्रिएशनले शुक्रवार होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी भदौ ११ गते आयोजना हुने प्रतियोगिताका लागि आवेदन फाराम आजैदेखि खुला गरेको जनाएको हो ।

पत्रकार सम्मलनमा उमङ्ग क्रिएसनका प्रवन्ध निर्देशक उद्धव अधिकारीले ‘मिस ग्राण्ड नेपाल –२०२४’ का बारेमा जानकारी दिएका हुन् । प्रतियोगिताको विजेतालाई ‘मिस ग्राण्ड इन्टरनेसनल–२०२४’ मा नेपालको प्रतिनिधित्व गराउँदै विदेश पठाइने आयोजक संस्थाले जनाएको छ । यो प्रतियोगिताका विजेताले नेपालको सबैभन्दा महँगो ताज पहिरिने बताउँदै अधिकारीले भने– ‘प्रतियोगितामा सहभागिता जनाउनको लागि १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाहरुले आवेदन दिन सक्ने छन् ।’

उमङ्ग क्रिएशनले विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता ‘मिस ग्राण्ड इन्टरनेशनलको फ्रेन्चाइज सन् २०२३ देखि लिएको थियो । यो प्रतियोगिताका विजेताले मिस ग्राण्ड इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने मौका प्राप्त गर्नेछन् ।

यो प्रतियोगितामा सहभागिता जनाउनका उमंग क्रिएसनको वेबसाइटमा गएर आवेदन फाराम गर्न सकिने छ । प्रशान्त ताम्राकार मिस ग्राण्ड नेपाल २०२४ को आधिकारिक कोरियोग्राफर, पेजेन्ट तथा शो डाइरेक्टरको रुपमा रहेका छन् ।

यो भव्य सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक युवतीहरुले यही असार ३१ गतेभित्र आवेदन फाराम भरिसक्नु पर्नेछ । १९ वर्षदेखि २९ वर्ष उमेर समुहका अविवाहित तथा कम्तिमा पाँच फिट तीन इन्च अग्ला युवतीहरुले यो प्रतियोगितामा सहभागिता जनाउन सक्ने छन्, यद्यपि त्यसका लागि आयोजक संस्थाले निर्धारण गरेका नियम तथा शर्तहरु भने अनिवार्य रुपमा पालना गर्नुपर्ने छ ।

तस्विरहरुः राज थापा