ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ असार
‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’को १२औँ संस्करण सुरू भएको छ । बिगत १३ वर्षदेखि यो महोत्सब आयोजना हुँदै आएको छ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डका सह आयोजनामा शुक्रबार बिहानबाट चलचित्र प्रदर्शनसँगै काठमाडौँ सुन्धारास्थित सिने डी सेफ चलचित्र भवनमा सुरु भएको हो । यो महोत्सब शुक्रबारबाट ९ असारसम्म तीन दिन चल्ने छ ।
महोत्सबमा शुक्रबारबाटै तीन दिनसम्म एमआर्ट थिएटर कपनमा तिन दिनको विशेष अभिनय कार्यशाला पनि चलिरहेको छ । अग्रज अभिनेता बीरेन्द्र हमालले त्यहाँ १० जनालाई अभिनय सम्बन्धि विशेष प्रशिक्षण दिईरहेका छन् ।
शुक्रबार बिहानै अफ्रिकाको चलचित्र प्रदर्शनसँगै शुरु भएको यो महोत्सबको औपचारिक उद्घाटन समारोहका प्रमुख अतिथि अभिनेता शिव श्रेष्ठलगायतले महोत्सबको बुकलेट बिमोचनबाट गरेका थिए । उद्घाटन समारोहमा महोत्सब समारोहमा सहभागी चलचित्रलाई प्रमाणपत्र वितरणसँगै केही व्यक्तिहरुलाई सम्मान समेत गरियो ।
कार्यक्रममा बोल्दै अभिनेता शिब श्रेष्ठले यस्ता गतिविधधमा चलचित्र क्षेत्रसँग जोडिएका सरोकारवाला संस्थाले सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले भने,‘यस्ता महोत्सवले हामीलाई विदेशी चलचित्रकर्मीको शैली र समाजसँग साक्षात्कार गराउँछ । त्यसकारण यसमा सहकार्य र सहयोग गर्नु चलचित्रकर्मीको दायित्व हो । मेरो चलचित्र यसमा किन परेन भन्ने महसुश भएको छ ।’
महोत्सवमा १० देशका २८ चलचित्र, वृतचित्र र लघु चलचित्र प्रदर्शन हुँदैछन् । महोत्सवमा नेपालबाहेक साउथ अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमैकालगायत देशका आठ चलचित्र प्रदर्शन हुने महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन् ।
उद्घाटन समारोहमा सबैलाई स्वागत गर्दै महोत्सब निर्देशक डब्बु क्षत्रीले नेपालमा अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सव हुनुपर्छ भन्ने आश्यकता महसुश गरेर यो महोत्सब सुरुआत गरेको बताए । महोत्सबमा राज्य पक्षबाट असहयोग हुने गरेको, महोत्सबमा निशुल्क देखाईने चलचित्रलाई समेत सेन्सर बोर्डले प्रदर्शनीको लागि अनुमति नदिने गरेको र राज्यले महोत्सबको लागि बजेट पटक्कै नछुट्याएको उनले बताए । महोत्सबबारे क्षत्रले भने्,‘आज १२ औँ संस्करणमा आइपुगेका छौँ । यस्ता महोत्सवले हामीलाई विभिन्न देशबारे बुझ्न मद्दत गर्छ । नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्वीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिरहेका छौँ’,
महोत्सवमा अभिनेता श्रेष्ठसँगै अभिनेता धिरेन शाक्य, गजित विष्ट, निर्देशक माधवराज खरेलगायतको सहभागिता थियो । समारोहमा गायिका सुष्मा शाही ठकुरी, इभेन्ट डिरेक्टर र कोरियोग्राफर धिरज तण्डुकार, अन्तराष्ट्रिय चलचित्र महोत्सब आयोजक सन्तोष सुवेदीलगायत, समाजसेवी शोभा गुरुङसहित विभिन्न व्यक्तिहरु सम्मानित भए । आफ्नो क्षेत्रमा उल्लेख्य योगदान दिएको भन्दै उनीहरुलाई कार्यक्रममा सम्मानित गरिएको हो ।
महोत्सवमा विदेशी चलचित्र, लघु चलचित्र र वृतचित्तर्फ गणेश पाण्डेको संयोजकत्वमा भारतबाट राहुल वर्मा, बँगलादेशबाट एमडी शाहारिअर कमल, नेपालबाट राजु केसी र रौनकविक्रम कँडेल सदस्य रहनुभएको निर्णायक समिति रहेको छ ।
यस्तै, नेपाली चलचित्र र वृतचित्रतर्फ अभिनेता एवम् नाट्यकर्मी विरेन्द्र हमालको संयोजकत्वमा भेषराज कार्की, कृष्ण रसाल, ओम सुनार सदस्य रहनुभएको निर्णायक समिति रहेको छ । यस्तै, नेपाली लघुचलचित्र र साङ्गीतिक चलचित्रतर्फ हिमाल श्रेष्ठ, प्रतीक्षा काफ्ले र सजिना लामिछाने सदस्य रहनुभएको निर्णायक समिति रहेको छ ।
महोत्सवमा विदेशी चलचित्रतर्फ ‘फुल्स’, ‘द चेस्लर’, वृतचित्रतर्फ ‘वि ह्याभ नेभर विन किड्स’, ‘ह्वाईट पोसन’ तथा लघु चलचित्रतर्फ ‘डाइनिज’, ‘अफस्प्रिङ’, ‘सर्भाइभर’ र ‘इग्नोरेन्स इज अ लाईफस्टाईल’ सहभागी छन् । यस्तै, महोत्सवमा नेपालबाट चलचित्र र आदिवासी चलचित्रतर्फ ‘सरी मम’, ‘काँडेतार’, ‘गोर्खा वारियर’, ‘सनाखत’, ‘आफ्नै कर्म’, ‘लोजिमा’ र ‘रित’, वृतचित्रतर्फ ‘जर्नी टु गोक्यो’, ‘काँचो बायु’ र ‘चेसिङ द ड्रिम’ तथा लघु चलचित्रतर्फ ‘सिगरेट’, ‘आमा’, ‘ऐना’, ‘ढुकढुकी’, ‘घटेरो’, ‘हे दैव’, ‘जुत्ता’, ‘म्यारिज डे’, ‘मातृत्व’ र ‘रोटेन ब्लड’ सहभागी छन् । महोत्सव अवधिभर चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायतका विभिन्न कार्यक्रम हुने जनाईएको छ ।
तस्बिर : बद्री थापा/ब्युटी न्युज नेपाल