ब्युटी न्युज नेपाल
काठमाडौं, १ असार
थारु भाषाको आफ्नै महत्व रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएको छ । मन्त्री चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने प्रस्ताव अघि सार्नु भएको छ । थारु कल्याणकारी सभा केन्द्रीय समितिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आज काठमाडौँमा आयोजना गरेको ूथारु भाषा संस्कृति सम्बन्धी अन्तरक्रिया कार्यक्रमूलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।
संस्कार संस्कृतिको रक्षा गर्नु सबैभन्दा पहिले सोही समुदायको दायित्व बढी हुने भन्दै उहाँले त्यसपछि राज्य र समाजको हुने बताउनुभयो ।
थारु जाति भाषा, संस्कृति, संस्कारले सम्पन्न तराईको आदिवासी भएको भन्दै उहाँले ती कुराको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो । ठाउँ अनुसार केही केही शब्दहरू फरक रहने गरेको भन्दै मन्त्री चौधरीले भाषाको संरक्षणका निम्ति ती कुराहरूमा एकरूपता ल्याउन मानक भाषा बनाउनै पर्ने बताउनुभयो ।
‘भाषा नरहेमा त्यो जातिको अन्य कुराहरू बिस्तारै हराउँदै जान्छन् । त्यसैले हामीले भाषाको संरक्षणलाई प्राथमिकता दिनुपर्छ । थारु भाषाको लिपिको विषयमा पनि एउटा निष्कर्ष निकाल्न आवश्यक छु, मन्त्री चौधरीले भन्नुभयो, ‘भाषा संरक्षण गर्न सबैको भूमिका उत्तिकै हुनुपर्छ । ठाउँअनुसार भाषामा केही केही कुरामा भिन्नता छन् । तथापि हामीले त्यसलाई मानक भाषाका रूपमा एकरूपता ल्याउन आवश्यक छ । त्यो एकदमै जरुरी छ ।’
उहाँले थारु जातिभित्रको भाषा, संस्कार, संस्कृतिभित्रको विविधतालाई पनि कसरी एकरूपता खोज्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
सोझो जातिको रूपमा चिनिने थारु जातिलाई विगतमा सोझोपनको फाइदा उठाएर जमिनदारबाट सुकुम्वासी बनाएको उदाहरण दिँदै उहाँले आर्थिक गतिविधि पनि बढाउनुपर्ने बताउनुभयो । ुहामी अब आर्थिक गतिविधिमा बढी भन्दा बढी सहभागी हुनै पर्छ । किनभने जो आर्थिक गतिविधिमा सहभागी नै हुँदैन त्यो कसरी सम्पन्न बन्न सक्छ भन्ने प्रश्न उठाउँदै उहाँले भन्नुभयो, ‘अन्य समुदायसँग घुलमिल नहुँदासम्म आर्थिक गतिविधिमा वृद्धि हुँदैन । जसले गर्दा गरिबी न्यूनीकरण पनि हुन सक्दैन ।’
मन्त्री चौधरीले जन्मदेखि मृत्यु पछिसम्मको संस्कारको संरक्षण गर्न सबैले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै उहाँले विभिन्न बहानामा थारु जातिलाई फुटाउने कोसिस भइरहेको भन्दै फुटलाई रोक्नुपर्ने बताउनुभयो,‘हिजो राना थारु छुट्टिन खोज्दा हामीले छलफल गरेर नछुट्टिन आग्रह गर्यौँ । तर उहाँहरू छुट्टिएर जानुभयो । अहिले खवास थारुले निवेदन दिएको कुरा आएको छु, मन्त्री चौधरीले भन्नुभयो,‘यसरी त थारु जातिको जनसङ्ख्या न्यून हुँदै जान्छ । जनसङ्ख्या कम हुनु भनेको समग्रतामा शक्ति कम हुनु हो । यो कुरा सबैले बुझ्न आवश्यक छ ।’