ब्युटी न्युज नेपाल
काठमाडौं, १२ जेठ
चलचित्र पुजार सार्कीको आज तेस्रो दिन शनिवारको व्यापार उल्लेख्य छ । हल प्राय सबैतिर हाउसफुल छन् । बिहीबार बुद्ध जयन्तीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ले पहिलो दिन नै ‘ग्रान्ड ओपनिङ’ गरेको थियो। दोस्रो दिन शुक्रवार सार्वजनिक बिदा नभएता पनि चलचित्रले सुखद व्यापार कायम गरेको थियो ।
आज शनिवार बिहानै देखि देशभरका सबै हलमा हाउसफुल व्यापार देखिएको छ। दोस्रो शो हरूमा पनि उल्लेखनीय व्यापार देखिएको छ भने मध्यान्हदेखिका प्रायस् शो हाउसफुल भैरहेको वितरक रोहित कट्टेलले बताए। शनिवार दिनभर ‘पुजार सार्की’का कलाकारहरू हल भिजिटमा हिँडिरहेका छन्। बिहानी शो मा भक्तपुरको क्यूएफएक्स सिनेमाजमा पुगेका कलाकारहरू त्यसपछि एफक्युब सिनेमा, चाबहिल पुगेका थिए।
नेपालका तीन सुपरस्टारहरूले एकसाथ अभिनय गरेको यो चलचित्रबाट नेपाली चलचित्रका दर्शकहरूमाझ व्यापक क्रेज हलमा फर्किएको छ। कलाकारहरू हल पुग्दा थामिनसक्नु भिड देखिएको छ।
मध्यान्हमा बिग सिनेमा, कमलपोखरी र अष्टनारायण हल, बालाजुमा पनि चलचित्रको टिमले सहभागिता जनाउने छ। त्यस्तै, शनिवार नै फाइनल रहेको चर्चित रियालिटी शो ‘पोएट आइडल’मा पनि कलाकारहरू पुग्नेछन्। त्यहाँ अभिनेता प्रदीप खड्काले कविता सुनाउने कार्यक्रम रहेको निर्देशक दिनेश राउतले बताए।
विकास सुवेदीले लेखेको यो चलचित्रका निर्माता सुवास भुसाल हुन्। यसमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ। चलचित्रले जातीय विभेदको विषयमा ठुलो प्रश्न खडा गरेको छ। चलचित्रलाई देशभरका दर्शकले अत्यधिक मन पराइरहेको रिपोर्टहरू प्राप्त भएका छन्।