पुजार सार्कीबाट आफुलाई प्रमाणित गर्दै अभिनेत्री अञ्जना


व्युटी न्युज नेपाल
काठमाडौं, ६ जेठ

अभिनेत्री अञ्जना बराइलीले महापुरुषबाट नेपाली चलचित्रमा नायिकाको रुपमा डेब्यु गरेकी थिईन् । दोश्रो चलचित्र चित्रमा उनको खास्सै काम देखिएन । यतिबेला अञ्जनाको महत्वकाँक्षी चलचित्र ’पुजार सार्की’ रिलिज हुँदैछ । अडिसनबाट उनी यो चलचित्रमा छानिएका थिईन् ।

गत वर्षको तिहारको माहौलमा सबै रमाइरहँदा एक दिन निर्देशक दिनेश राउतले अञ्जनाको इन्स्टाग्राममा सन्देश लेख्दै मोबाइल नम्बर मागे। अञ्जनाले आफ्नो नम्बर दिएपछि दिनेश र अञ्जनाबिच पहिलो पटक कुराकानी भएको थियो। चर्चित गीत ‘घुमी घुमी’मा अञ्जनाले गरेको अभिनय हेरेर दिनेशले ‘पुजार सार्की’का उनलाई कास्ट गर्ने सोच बनाएर कुरा अघि बढाएका थिए।

“तिहारको समय भएकाले तिहारपछि कामको कुरा अगाडि बढाउने कुरा भयो। मैले तिहारको पर्सिपल्ट उहाँलाई फोन गरेँ। उहाँले ‘हामी एउटा चलचित्र बनाउँदै छौँ। चलचित्रको कथा अनुसार एउटा क्यारेक्टरमा तिमी ठिक हुन्छौ कि भनेर कुरा गर्न खोजेको’ भन्नुभयो। त्यसपछि भेटेरै गफ गर्ने कुराकानी भएपछि त्यसको भोलिपल्ट लेखक बिकास सुवेदी दाइ, दिनेश सर, निर्माता सुवास भुसाल र म भेट्यौँ। त्यो भेटमा बिकास दाइले कथा सुनाउने बित्तिकै ‘पुजार सार्की’ वास्तविकतामा आधारित भएकाले मैयाँको चरित्र मैले गर्न पाए हुन्थ्यो जस्तो लाग्यो,” अञ्जनाले भनिन् ।

त्यसपछि अञ्जनाले आफूलाई भनिएको क्यारेक्टर डिजाइन अनुसार मैयाँ पात्रका लागि अडिसन दिइन्। अभिनयसँगै लुक टेस्टको पनि कुरा आएपछि उनले दुई पटक लुक टेस्ट दिइन्। “महापुरुषमा पनि अडिसन दिएकाले अडिसन दिन मलाई गाह्रो भएन। तर पहिलो लुक टेस्टमा क्यारेक्टरको टोन बढी डार्क भएको भन्ने कुरा आएपछि दोस्रो पटक लुक टेस्टमा पास भएपछि फिल्ममा जोडिएँ,” अञ्जनाले सम्झिइन् ।

‘पुजार सार्की’मा जोडिनु अघि नै उनले कौसी थिएटरमा एक महिनाको अभिनय कक्षा लिइसकेकी थिइन्। डेढ महिनाको कक्षा भए पनि ‘पुजार सार्की’को वर्कसप सुरु भएकाले उनले एक महिनाको मात्र अभिनय कक्षा लिइन् ।

चलचित्रमा अञ्जनाको जोडीको रूपमा अभिनेता आर्यन सिग्देल छन्। आर्यन उनको सानै देखिको ‘क्रस’ हुन्। आफ्नै ‘क्रस’सँग अनस्क्रिनमा जोडिन पाउँदा उनलाई उत्तिकै डर भएको थियो। “मैले धेरै चलचित्रमा काम गरेको छैन ।

त्यसमाथि यो फरक विधाको मजबुत विषय भइसकेपछि आफ्नो चरित्रलाई अझ मजबुत कसरी बनाउने भन्ने डर हुन्छ। अझ मेरो जोडी म भन्दा अग्रज हुनुहुन्छ। आर्यन दाइले ‘तिमीलाई मसँग अभिनय गर्दा गाह्रो भइरहेको छ भने भन्नु’ भन्दा मलाई थप ऊर्जा प्राप्त हुन्थ्यो। मैले धेरै पटक रिटेक खाँदा पनि उहाँ कहिल्यै रिसाउनुभएन। ‘यस्तै हुन्छ’ भनेर ढाडस दिनुहुन्थ्यो। सिनियर स्टार यति सरल हुन्छन् होला भन्ने कल्पना समेत थिएन,” उनले भनिन् ।

अञ्जनाले ‘पुजार सार्की’मा स्थानीय सार्कीकी छोरीको भूमिका निभाएकी छन्। उनी समाजले ठुलो जात भन्ने गरेको अर्थात् ब्राह्मणको छोरासँग प्रेममा परेकी हुन्छिन् तर, समाजले भने सम्बन्ध स्वीकार गर्न गाह्रो मान्छ। “त्यो सम्बन्धलाई दिगो सम्बन्धमा परिणत गर्ने बेलासम्म के कति बाधा अड्चनहरू आउँछन् र के कति सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा मेरो चरित्रले देखाउँछ। म समाजबाट दबिएको पीडित, त्यसमाथि पूजारसँगको सम्बन्धका कारण समाजले बहिस्कार गरेपछि झन् पीडित चरित्रमा छु। सानो जात हुँदाहुँदै पनि प्रेम सम्बन्धले झन् बढी दबिएको र छोरी मान्छे भइसके पछि के कति कुरा फेस गर्नुपर्छ भन्ने कुरा मेरो चरित्रले देखाउँछ”, आफ्नो चरित्रबारे अञ्जना भन्छिन्।

अञ्जनालाई वर्कसपको बेला स्क्रिप्ट पढेदेखि नै आफ्नो चरित्र किन यसरी दबिएको भन्ने चिन्ता परेको थियो। त्यही भएर उनले लेखक विकास सुवेदीलाई बारम्बार यही प्रश्न गरिरहन्थिन्। चलचित्रको चरित्र भन्दा पनि अञ्जना भएर हेर्दा उनलाई ‘मलाई किन यस्तो भूमिका दिइयो?’ भन्ने मनमा लाग्थ्यो, हल्का रिस पनि उठेको थियो।

“त्यो पात्रले बोल्नुपर्ने ठाउँमा बोल्दैन। अति भइसकेपछि जो पनि बोल्छ नि त। म विकास लेखकलाई भनिरहन्थेँ। ‘यस्तो किन यहाँ भयो, यति हुँदा त जो पनि बोल्छ नि त। धेरै पोल्यो भने आत्था त भन्ला नि त’ भनेर सोधिरहन्थेँ। त्यही भएर पनि मेरो पात्रले सम्बन्ध निभाउनका लागि आफूभन्दा ठुलो जात भनिएको मान्छेसँग गरेको सङ्घर्ष एकदमै गाह्रो थियो। मैले बुझ्दा र त्यो पात्र अनुभव गरिरहँदा मलाई निकै गाह्रो भएको थियो”, अञ्जनाले सुनाइन्।

अञ्जनाले यो चलचित्रमा काम गर्नुभन्दा अघि जातीय विभेदका घटनाबारे नसुनेकी भने होइनन्। तर, किन यस्ता घटना हुन्छन् भन्ने कुरा स्क्रिप्ट पढेपछि र वर्कसपमा बसेपछि मात्र थाहा पाइन्। “स्क्रिप्ट पढ्दै जाँदा र स्क्रिप्ट अनुसार दृश्य बनाइरहँदा यहाँ पुगेर यतिको हिंसा हुने रहेछ भन्ने थाहा पाएँ। स्क्रिप्टले यो सबै सहजै बुझाउँथ्यो। स्क्रिप्ट पढिसक्दा यहाँ हिंसाको अवस्था यसरी हुँदो रहेछ भन्ने थाहा भयो,” उनले भनिन् ।

चलचित्र ‘महापुरुष’ हेरेका दर्शकले आफूलाई ‘पुजार सार्की’मा अझ बढी माया गर्नेमा अञ्जना ढुक्क छिन्। “महापुरुषमा म नयाँ मान्छे भएकाले ‘नराम्रो काम गरी’ भनेर कसैले भन्नुभएको थिएन। सिनियर कलाकारको भीडमा आफूले राम्रो काम गरेको भन्ने तारिफ पाएको थिएँ। अञ्जनाले अवसर पायो भने काम गरेर देखाउँछिन् भन्ने कुरालाई मैले ‘पुजार सार्की’मा प्रमाणित गरेकी छु। मेरो हकमा महापुरुष र पुजार सार्कीको मेरो पात्र फरक पात्र हुन्। फरक परिवेश, फरक चरित्रका कारण पनि दर्शकले मलाई माया गर्नुहुनेछ भन्नेमा विश्वस्त छु,” उनी भन्छिन्।

यही बिहीबार रिलिज हुने चलचित्र ’पुजार सार्की’मा प्रदीप खड्का, पल शाह, परीक्षा लिम्बु लगायतको पनि प्रमुख अभिनय रहेको छ। सुबास भुसालले यो चलचित्र निर्माण गरेका हुन्।