ब्युटी न्युज नेपाल
काठमाडौं, २ चैत
नेपाली चलचित्र ‘रङ्गेली’ सफलताका साथ दोस्रो हप्तामा प्रवेश गरेको छ । यो चलचित्र गत शुक्रवार रिलिज भएको हो । पहिलो हप्ता रिलिज भएका सबै हलहरूमा केही सङ्ख्या कम गरी यस हप्ता पनि शो प्राप्त भएका छन् । एक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले हल रिजर्भ गरेका कारण देशकै ठुलो मल्टिप्लेक्स चेनको काठमाडौं उपत्यकाका हलहरूमा भने केही कम शो रहेका छन् ।
“पहिलो हप्ताको अन्त्यतिर आइपुग्दा दर्शकको उपस्थिति झन् बढेको थियो । नेपाली चलचित्र हेर्ने दर्शक निकै चलाख हुनुभएको महसुस गरेँ । चलचित्रको प्रतिक्रिया हेरेर मात्र हल पुग्ने निर्णयमा पुग्ने गरेको भेटियो । म निकै उत्साहित छु,” निर्देशक अर्जुन सुवेदीले बताए । सुवेदीले पहिलो हप्ताको अन्तिम दिन बिहीबार अधिकांश शोहरुमा ८० प्रतिशत बढी अकुपेन्सी रहेको बताए ।
रिलिजको पहिलो दिनदेखि नै उत्साहजनक व्यापार गरिरहेको नेपाली चलचित्र रङ्गेलीको विदेशमा उच्च माग भएको छ । नेपालमा प्राप्त प्रतिक्रियासँगै विदेशबाट डिमान्ड आएको निर्देशक सुवेदीले बताए । यो चलचित्र अमेरिका, क्यानडा, जापान र कोरियामा पहिले नै बिक्री भइसकेको थियो । नेपालमा मन पराइएपछि मलेसिया, दुबई, कतार, बहराइन, साउदी, ओमनमा हालै मात्र बिक्री भएको सुवेदीले बताए । अस्ट्रेलिया, युरोप, हङकङ, भारत लगायतका देशहरूमा रिलिजको लागि त्यहाँस्थित वितरकहरूसँग रिलिजको लागि अन्तिम चरणमा पुगेको उनले बताए । यो चलचित्रका निर्देशक सुवेदी नेपाली चलचित्रका ओभरसिज वितरक समेत हुन् ।
जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा एक्का बास्सा इन्टरटेन्मेन्टु र लाइभ एट प्रिजेन्टुले रङ्गेली रिलिज गर्दै छन् । त्यस्तै मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा सुरज लम्साल र एक्का बास्सा इन्टरटेन्मेन्टले रिलिज गर्दैछन् ।
रङ्गेलीमा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह(निर्माता हुन् । विवेक खड्का ९योलो० एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।
दर्शकबाट चलचित्र केही लामो भएको प्रतिक्रिया पाएपछि २१ मिनेट घटाइएको थियो । चलचित्रको लम्बाई कम भएपछि दर्शकले झनै इञ्जोए गरेको निर्देशक सुवेदीले बताए । अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् । चलचित्रको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ ।