ब्युटी न्युज नेपाल
काठमाडौं २१ फागुन
चलचित्र सेन्सर बोर्डसँग चार दिनको रस्साकस्सी पछि चलचित्र रँगेलीले सेन्सर पास भएको प्रमाणपत्र पाएको छ । सेन्सरमा रहेका मध्य गृह मन्त्रालयका प्रतिनिधिले यो चलचित्रको नाम रँगेली भएकाले रँगेली नगरपालिकासँग स्वीकृति पत्र नल्याएसम्म सेन्सर नगर्ने अड्डी कसेका थिए । चलचित्र क्षेत्र र चलचित्र विकाश बोर्डबाट गएका सेन्सर प्रतिनिधिहरुले गृह प्रतिनिधिको भनाई प्रति मौन समर्थन जनाएपछि आफुहरुले रँगेली नगरपालिकासँगको सहमति पत्र सेन्सर बोर्डले मागेको रँगेलीको निर्माण टिमले जनाएको छ । निर्माणको समयमै लिएको स्वीकृति पत्रबारे जानकारी गराएपछि सेन्सर प्रमाणपत्र निर्माण टिमले पाएको हो ।
सेन्सर बोर्डको रबैयाप्रति चलचित्र क्षेत्रबाट व्यापक विरोध भएपछि रँगेलीले सेन्सर सर्टिफिकेट प्राप्त गरेको हो । यो चलचित्रको निर्माण अघि नै नामको विषयलाई लिएर चलचित्र विकाश बोर्डले दुःख दिएको पनि निर्माण पक्षले जनाएको छ,‘सुरुमा चलचित्र विकाश बोर्डले दुःख दियो । अहिले सेन्सर बोर्डले अनाबस्यक कागज मागेर दुःख दियो ।’ निर्माण पक्षले बतायो ।
यो चलचित्रले पीजी सर्टिफिकेट (प्यारेन्टल गाइडेन्स) प्राप्त गरेको छ । अर्थात् फिल्मलाई १६ वर्षभन्दा मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्नेछ ।
नेपालमा चलचित्र निर्माणको प्रकृति पँचायती काल भन्दा निरँकुस बनाउने काम सरकारी कर्मचारीहरुले गर्न थालेको भन्दै चलचित्रकर्मीहरुबाट अहिले सेन्सर बोर्डको ब्यापक विरोध भईरहेको छ । रँगेलीको निर्माण टिमले सेन्सर बोर्डबाट आईतबार सेन्सर प्रमाणपत्र पाएको हो । यसलाई चलचित्रकर्मीहरुले इतिहाँसकै खराब सेन्सर नजिरको रुपमा अहिले ब्याख्या गरेका छन् ।
अर्जुन सुवेदीले निर्देशन गरेको यो चलचित्रलाई सुवेदी स्वयंले लेखेका हुन् । यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा आदिको अभिनय छ । फिल्मका कार्यकारी निर्माताहरु जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा तथा निर्माताहरु संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने सह–निर्माताहरु युवक कार्की र शिव शङ्कर चौलागाईँ हुन् । यो चलचित्रमा सुशन प्रजापतिको छायाँकन रहेको छ ।