गायक राजु लामाको नजरमा गोर्खा वारियर उत्कृष्ट चलचित्र


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ फागुन

ऐतिहाँसिक चलचित्र गोर्खा वारियर यतिबेला मुलुकका करिब ६५ वटा सिनेमा हलमा दोश्रो सातामा प्रदर्शन भईरहेको छ । चलचित्रलाई दोश्रो सातामा पनि दर्शकले उस्तै मन पराएका छन् । यो चलचित्र हेरेर विभिन्न राजनीतिज्ञ देखि सेलिब्रेटीसम्मले गोर्खा वारियरको खुलेर प्रसँसा गरेका छन् ।

यतिबेला आफ्नो साँगीतिक यात्राको लागि अमेरिका जाँदै गरेका लोकपप ब्यान्ड मँगोलियन हार्टका चर्चित गायक राजु लामाले चलचित्र गोर्खा वारियर हेरेका छन् । अमेरिका यात्राको लागि पोखराबाट काठमाडौं आएका राजुले शनिबार राती काठमाडौंमा यो चलचित्र हेरेका हुन् ।

चलचित्र हेरेपछि गायक लामाले सञ्चारकर्मीसँग भने,‘अहिलेसम्म बनेको युद्ध सम्बन्धि नेपाली चलचित्रमा मलाई गोर्खा वारियर उत्कृष्ट लाग्यो । हलिउड स्तरको यति उत्कृष्ट सिनेमा नेपालमा पनि निर्माण भएकोमा मलाई अत्यन्त खुसी लागेको छ ।’ गायक लामाले यति उत्कृष्ट चलचित्र बनाएकोमा यसका निर्देशक मिलन चाम्सलाई बधाई दिएका छन् ।

यो चलचित्रलाई यस अघि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति मन्त्री सुदन किराती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, साँसद ज्ञानेन्द्र बहादुर शाहीसहित विभिन्न नेता तथा चलचित्रकर्मीले हेरेर गोर्खा वारियरको प्रसँसा गरिसकेका छन् ।

आफुले बनाएको चलचित्र गोर्खा वारियरको सबै पक्षबाट तारिफ पाउँदा अब आउँदा दिनमा अझ राम्रो चलचित्र निर्माण गर्ने हौसला मिलेको यसका निर्देशक मिलन चाम्सले बताएका छन् ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई र सुस्मिता वाइवा रहेका छन् । यसमा कार्याकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रुपमा सुरेश राई छन् । ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा यो चलचित्रमा प्रस्तुत गरिएको यसका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् । उनका अनुसार यो चलचित्र नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी गरी चार भाषामा तर भएको छ । बाँकी तीन भाषाको फिल्म पनि प्रदर्शनमा आउने चाम्सले जानकारी गराएका छन् ।

गोर्खा वारियरमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सुरज तमु, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।