ब्युटी न्युज नेपाल
काठमाडौं, १६ फागुन
नेपाली चलचित्र ‘अगस्त्य च्याप्टर १’ले १६ वर्ष भन्दा कम उमेरका बालबालिकाले अभिभावकको साथमा हेर्नु पर्नेगरी ‘पीजि’ सर्टिफिकेट पाएको छ । बुधबार भएको सेन्सरमा केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड) बाट पिजी सर्टिफिकेट पाएको हो ।
यो चलचित्र यही शुक्रबार १८ फागुनबाट विश्वव्यापी रुपमा सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ । फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको सौरभ चौधरी निर्देशित फिल्मलाई देशभरका हलमा उच्च शो पाएको छ ।
सेन्सरको क्रममा त्यहाँका पदाधिकारीहरुले आफ्नो चलचित्रलाई प्रसँसा गरेको यसका निर्देशक सौरभ चौधरीले जानकारी गराएका छन् ।
यो चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।