चलचित्र रँगेलीको ट्रेलरमा शक्तिको खेल प्रदर्शन


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ फागुन

चलचित्र रङ्गेलीको ट्रेलर बुधबार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने यो चलचित्रको रिलिज मिति निजिकिँदै गर्दा ट्रेलर रिलिज गरिएको हो । औपचारिक कार्यक्रमसँगै डिजिटल रूपमा ओएसआर डिजिटलको युट्युब च्यानलबाट पनि ट्रेलर आजै रिलिज गरिएको छ ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । चलचित्रको ट्रेलरमा यि सबैजसो मुख्य कलाकारलाई समेटिएको छ । चलचित्र घरज्वाईंको छायाँकनमा पश्चिम रुकुम पुगेका अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर भने यो चलचित्रको ट्रेलर रिलिज समारोहमा उपस्थित हुन सकेनन् ।

कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक अर्जुन सुवेदी रँगेली दर्शकले चाहेको जस्तो चलचित्र बनाउने कोसिस गरेका बताए । उनले भने, ‘प्रचण्ड गर्मीको मौसममा तराई क्षेत्रमा धेरै मेहनत गरेर यो चलचित्र बनाएका छौँ । रङ्गेलीको कथा तराई क्षेत्रको कथा हो । ट्रेलर हेरेर इमानदार प्रतिक्रिया चाहेको छु । हामीले दर्शकले चाहेको जस्तै चलचित्र बनाउने कोसिस गरेका छौँ ।’

अभिनेता रुपेश झाले रँगेलीले तराईको कथा मात्र नभनी त्यहाँको संस्कृति पनि झल्काउने बताए । कार्यक्रममा बोल्दै अर्का अभिनेता प्रवीण खतिवडाले चलचित्र बनाउनु र रिलिज गर्नु सहज नभएको बताउँदै दर्शकको साथको अपेक्षा गरेको जनाए ।

रँगेलीको करिब ३ मिनटको ट्रेलरमा डर र शक्तिको खेलको कथा प्रस्तुत गरिएको छ । चलचित्रका प्रमुख कलाकारहरू सबैलाई समेटिएको यसले नेपालको तराई क्षेत्रमा घटेका विविध घटनाहरू र आयामहरूलाई दृश्य मार्फत देखाउने कोसिस गरिएको छ । साथमा राजनीतिको असरको समेत झल्को दिइएको छ ।

यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ । चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शँकर चौलागाईँ सह निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।