ब्युटी न्युज नेपाल
काठमाडौं, ९ फागुन
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा ‘इन्द्रेणी ७ औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०’ सम्पन्न भएको हो । धादिङको चरौंदीमा आयोजित यो प्रतियोगिताका अन्तिम प्रतिस्पर्धामा दिलीप थापा मगर र विमा अनुरागीको जोडीउत्कृष्ट भएका छन् । यी दोहोरी गायन जोडी प्रतिष्ठानको उपत्यका समन्वय समिति अन्तर्गतको बानेश्वर–कोटेश्वर समितिको तर्फबाट दिलीप र विमाले उपाधि जितेका हुन् । यी दुईले रनिङ शिल्ट, ट्रफी, र सँयुक्त रुपमा तीन लाख नगद राशि प्राप्त गरे
यो प्रतियोगितामा कोरिया शाखाको तर्फबाट प्रतिस्पर्धी तारा थापा र टेकराज भण्डारीको जोडी दोस्रो र जापान शाखाको तर्फबाट प्रतिस्पर्धी निशान विश्वकर्मा र सपना रोकाको जोडी तेस्रो भएको छ । दुवैले क्रममा दुई लाख र एक लाख नगद जिते सहित पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा अनामनगर समितिको तर्फबाट प्रतिस्पर्धी विजय बानियाँ र सबिता परियारले ५० हजार नगदसहित सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
धादिङ जिल्लाको रोराङ–बेनीघाट गाउँपालिका वडा नं. ७ स्थित चरौंदीको मैदानमा आयोजित ‘इन्द्रेणी ७ औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता –२०८०’ फागुन ५ मा प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा उद्घाटन भएको थियो भने समापनमा नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँती सहभागी थिए । प्रतिस्पर्धामा लोकदोहोरीको रौनकतामा रमाउने दर्शकहरूको बाक्लो घुइँचो नै लागेको थियो ।
यो प्रतिस्पर्धामा देशका विभिन्न स्थानका ४८ समुहले दोहोरी गायका थिए । जसमध्ये जुम्ला शाखाको तर्फबाट सहभागी गीता सेजुवाल उत्कृष्ट नव गायिका बन्न सफल भइन् भने पाल्पा शाखाको तर्फबाट सहभागी रबिन नेपाली उत्कृष्ट नव गायकको पुरस्कार चुम्न सफल भए । त्यसैगरी बसपार्क समिति रातोको तर्फबाट प्रतिस्पर्धी जमुना बिक उत्कृष्ट प्रतिभावान् गायिका बन्न सफल भइन् । त्यस्तै बसपार्क समिति सेतोको तर्फबाट सहभागी रत्न श्रेष्ठ र बागमती प्रदेशबाट सहभागी आशा केसीले उत्कृष्ट भेषभुषाको पुरस्कार चुम्न सफल भए ।
लुम्बिनीको तर्फबाट सहभागी लक्ष्मी बस्नेत उत्कृष्ट सृजनशील गायिका बन्न सफल भइन् भने उपत्यका समन्वय समितिको तर्फबाट सहभागी शर्मिला श्रेष्ठ र काठमाडौँ जिल्लाका अनिल सुनार उत्कृष्ट अनुशासित गायिका र गायकको पुरस्कार चुम्न सफल भए । सबै नगद १५ हजार पुरस्कारको रूपमा प्राप्त गरे ।
त्यस्तै बागलुङ जिल्लाशाखाको तर्फबाट सहभागी सुमन खड्का र सुनधारा समितिको तर्फबाट सहभागी तिर्सना बुढा क्षेत्री उत्कृष्ट गायक गायिकाको पुरस्कार चुम्न सफल भए । उनीहरुले २५ हजार नगदराशि सहितको पुरस्कार प्राप्त गरेका थिए ।
बिजेताहरुलाई पुरस्कार प्रदान गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किराती हाम्रा मौलिक लोक गीत तथा लोक नृत्यहरुको सँरक्षण गर्न लोड दिए । यस्ता दोहोरी गायन प्रतियोगिताले दोहोरी गायनको संस्कारको बृद्धि हुुनुका साथै यो क्षेत्रका प्रतिभाले आफ्ना प्रतिभा देखाउन पाउने भन्दै आयोजक पक्षको मन्त्री किरातीले प्रसँसा गरे ।