ब्युटी न्युज नेपाल
काठमाडौं ६ असोज
काठमाडौंको ठमेलमा रहेको चाहना रोधी घरमा नेपालका लोकप्रिय संगीतकार दीपक शर्माले आफ्नो एकल प्रस्तुति दिएका छन् । हिजो शुक्रबार बेलुका उनले सो रोधीघरमा ‘दीपक शर्मा एकल साँझ’ कार्यक्रममा आफ्नो एकल प्रस्तुति दिएका हुन् ।
करिब दुई घन्टा भएको सो एकल प्रस्तुतिमा संगीतकार दीपक शर्मालाई उनकै गीतका चर्चित गायक गायिकाले गीतहरु गाएर साथ दिएका थिए । प्रत्यक्ष बाद्यबादन सहितको सो एकल साँझमा दीपक शर्माद्धारा संगीतबद्ध १० वटा गीतहरु प्रस्तुत गरियो । दीपक शर्माका चर्चित गीतहरु सुन्न रोधीघरमा विभिन्न ठाउँबाट संगीतप्रेमीहरु आएका थिए ।
बेलुका बेलुका ८ बजेबाट सुरु भएको सो साँगीतिक कार्यक्रमको सुरुमा संगीतकार दीपक शर्माले आफुद्धारा संगीतबद्ध चलचित्र छक्का पञ्जाको चर्चित गीत देखन चम्पा…गीत प्रस्तुत गरे । दर्शकले पुन उनलाई गायन प्रस्तुतिको माग गरेपछि दीपकले अर्को गीत पछि पछि लायर…प्रस्तुत गरे ।
दीपक शर्माद्धारा संगीतवद्ध विभिन्न हिट गीतहरु यसपछि सम्बन्धित कलाकारहरुले सो कार्यक्रममा प्रस्तुत गरे । आफुले २ वटा गीत प्रस्तुत गरिसकेपछि शर्माले एकल साँझभरी बाँकी कलाकारलाई हार्मोनियममा साथ दिएका थिए । यसै क्रममा अर्का गायक सविन सुवेदीले कार्यक्रममा नलाएको मायाँ…, पर्दैन पर्दैन…, पर्ख पर्ख मायाँलु…, गीत प्रस्तुत गरे । गायक सविनलाई पर्ख पर्ख मायाँलु र पर्दैन पर्दैन सहित दुई गीतमा गायिका बेनिशा पौडेलले स्वरमा साथ दिएकी थिईन् ।
यस्तै गायिका बेनिसा पौडेलले दीपक शर्माद्धारा संगीतबद्ध आफ्नो अर्को चर्चित गीत आँखैमा लाउने गाजल सकियो…प्रस्तुत गरिन । यो क्रममा उनलाई अरु गीत गाउन दर्शकले आग्रह गर्दा गर्दै गायक डेबिड शँकल माईक्रोफोनको अगाडि प्रस्तुत भए । सो कार्यक्रममा गायक डेबिडले पनि दीपकद्धारा संगीतबद्ध हिट गीतहरु नै प्रस्तुत गरे । चलचित्र छक्का पञ्जा ३ को चर्चित गीत पहिलो नम्बरमा…., चलचित्र छक्का पञ्जा ४ को हिट गीत दर्शन सलाम प्रस्तुत गरे । यी दुबै गीतमा डेविडलाई गायिका बेनिशाले महिला स्वरमा साथ दिएकी थिईन् ।
यस्तै गायक डेविडले कार्यक्रममा अत्यमा दुई वटा गीतहरु आफ्नो एकल स्वरमा प्रस्तुत गरे । उनले दिपक शर्माकै चर्चित गीत पिरिम नलाउने… र अर्को चर्चित गीत तिमीलाई हेरेर…गायका थिए । यसरी करिब डेढ घन्टाको बसाईमा संगीतकार दीपक शर्मा एकल साँझमा दीपक र उनका सहयोगी गायक गायिकाहरुले यी चर्चित गीतबाट रोधीघरमा आएका पाहुनाहरुलाई मनोरम तुल्याएका थिए ।