मुलुकका ६ दर्जन हलमा पर्खि बसे तिमीलाई, विशेष शोमा सकरात्मक प्रतिक्रिया


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ पुस

शुक्रबार (आज)बाट चलचित्र पर्खिबसें तिमीलाई मुलुकको ६ दर्जन भन्दा बढी सिनेमा हलमा रिलिज भएको छ । बरिष्ट एवम् अनुभव निर्देशक दीपक श्रेष्ठ निर्देशित चलचित्र पर्खि बसें तिमीलाईले आज शुक्रबार बिहान र मध्यान्नको सोमा दर्शकको राम्रो साथ पाएको छ । सो चलचित्रमार्फत अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पहिलोपटक मुख्य भूमिका निर्वाह गरेका छन् । उनीहरू माघेसंक्रान्तिसम्म उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिदैछन् ।

माघे सक्रान्तिको अबसर पारेर रिलिज गरिएको यो फिल्मले शनिबार र सोमबार बिदाका कारण निकै राम्रो दर्शक पाउने विश्वास यसका निर्माता राजाराम बुढाथोकीको रहेको छ । रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्काको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसैबीच यो चलचित्रको बिहान ११ बजे नयाँ बानेश्वरस्थित वान सिनेमाज सो फिल्मको विशेष शो गरियो । शोका सहभागीहरुले धेरै राम्रो प्रतिक्रिया दिए । पाका र अग्रज निर्देशक दीपक श्रेष्ठले अहिलेका तन्नेरी पुस्तालाई लक्षित गरेर यो चलचित्र बनाएको उनीहरुको प्रतिक्रिया थियो ।

फिल्म हेरेपछि अग्रज अभिनेता शिव श्रेष्ठले यो फिल्मबाट डेब्यु गरेका अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीको अभिनयको तारिफ गर्दै उनीहरुको सम्भावना राम्रो छ भने । उनले डेब्यु कलाकारसँगै निर्देशक श्रेष्ठको प्रसंशा गरे ।

यो चलचित्रका नव अभिनेता किरण र नव अभिनेत्री रक्षाले पनि आफुहरुले यसमा निकै मेहतन गरेको र सो मेहनत प्रति दर्शक तथा समीक्षकहरुको राम्रो प्रतिक्रिया पाउँदा हौसाल बढेको छ भने । आफुहरु यो फिल्मको सिक्वेल बन्ने पक्षमा रहेको बताए । त्यसमा पुन जोडीकै रुपमा प्रस्तुत हुने चाहना पनि यी दुईले व्यक्त गरे ।

निर्माता आकाश अधिकारी, निर्देशक नव नेपाल लगायत चलचित्र क्षेत्रसहित विभिन्न विधाका व्यक्ति विशेष शोमा सहभागी भएका थिए । निर्माता तथा निर्देशक अधिकारीले फिल्म उद्योगमा कमि रहेको नयाँ अनुहारलाई किरण र रक्षाले पुरा गर्नेमा विश्वस्त रहेको बताए,’यस्ता प्रतिभाले अवसर पाएका रहेनछन । उनीहरूलाई पर्दासम्म ल्याउने टिमलाई धन्यवाद । उनीहरूको भविष्य उज्ज्वल छ ।’

निर्देशक दीपक श्रेष्ठले प्राप्त प्रतिक्रियाले आफू उत्साहित रहेको बताए,’मैले देखाउन खोजेको कथा पर्दामार्फत दर्शकको मनसम्म पुगेको छ । युवापुस्ताको प्रेमलाई दर्शकले पनि रुचाउनु भएको छ’, निर्देशक श्रेष्ठले भने,’अहिले फिल्म हेरिसकेकोले तारिफ गरिरहेका छन् । हामीलाई राम्रा प्रतिकिया प्राप्त भइरहेको छ । युवापुस्ताले प्रेम कथालाई रिलेट गर्नुभएको छ ।’