सुन्दर बजार कटेसी कुन्छा.. हिटपछि भिडियो निर्देशनमा उमेश झन व्यस्त


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ कात्तिक

दशैं अघि रिलिज भएको स्थान विशेष मौलिक गीत सुन्दर बजार कटेसी कुन्छा…अहिले निकै चर्चामा छ । यो गीतलाई रेजिना परियार र विवेक धितालले गाएका हुन् । गीतको शब्द संगीत पनि विवेक धितालले नै गरेका हुन् ।

यो गीत सफल हुनुको अर्को मुख्य कारण यसको म्युजिक भिडियो पनि हो । किनकी यो गीतमा लमजुङको मुख्य पर्यटकीय सस्थल समेटिएको छ । यसको म्युजिक भिडियोलाई उमेश गुरुङले निर्देशन गरेका हुन् । यो गीतको भिडियोबारे निर्देशक गुरुङले भने,‘यो गीतको भिडियो अन्य गीतको जस्तो छायाँकन गर्न सजिलो थिएन । किनकी लमजुङका मुख्य मुख्य पर्यटकीय क्षेत्र समेटिएका कारण ती सबै स्थानमा पुगेर कलाकार सहित छायाँकन गर्दा यो म्युजिक भिडियोको सुटिङ गर्न मात्र पाँच दिन लाग्यो ।’

उमेशका अनुसार यो गीतलाई अहिले लमजुङ वासीले असाध्यै मन पराएका छन् । हरेक लमजुङबासीका लागि यो गीत आफ्नो क्षेत्र र जिल्लाको प्रचारको लागि ससक्त माध्यम बनेको पनि उमेशले बताएका छन्,‘यो गीत र गीतको भिडियोलई लमजुङबासीले त सर्वाधिक मनपराउनु भएको छ नै । देश बिदेशका दर्शक श्रोताले पनि सुन्दर बजार कटेसी कुन्छा गीतलाई त्यत्तिकै धेरै मन पराउनु भएको छ ।

यो गीतको भिडियोमा गुरुङ संस्कृतिलाई समेटिएको पनि निर्देशक उमेशले बताएका छन्,‘लमजुङमा गुरुङ समुदायको बाहुल्यता भएकाले हामीले यसमा गुरुङ संस्कृतिलाई प्रमुख स्थान दिएका छौं ।’

यो गीतको भिडियोमा आनन्द गुरुङ, उत्साह घिमिरे, अनुष्का भण्डारीसहित विभिन्न स्थानीय कलाकारहरुलाई समेटिएको पनि उनले बताएका छन्,‘हामीले रोधीघर अवधारणाले कोल्की समाज भोटेओढारको सहयोगमा यो भिडियो निर्माण गरेका छौं ।’ उमेशले भने ।

बेलायतमा बस्दै आएका पति पत्नी राजशान्ति सुनारको प्रस्तुतिमा यो भिडियो निर्माण गरिएको हो । छायाँकार शम्भु जालिसेले लमजुङका विभिन्न स्थानका सुन्दरतालाई अझ सुन्दर रुपमा भिडियोमा उतारेका छन् । यो गीतमा लमजुङ चिनारी समेटिएकाले पर्यटन प्रवर्धनमको लागि राजशान्तिले प्रस्तुत गरेको पनि निर्देशक उमेश गुरुङले बताएका छन् । यो गीतको सफलतापछि लमजुङको बाँकी महत्वपूर्ण स्थान समेटेर यसको दोश्रो भाग पनि अब ल्याउने उमेशले बताएका छन् । लमजुङ कलाकार समाजको अध्यक्ष समेत रहेका उनी नेपालमा गाउँ प्रवर्धन तथा पर्यटकीय स्थल परिचय गीतको सबैभन्दा धेरै भिडियो निर्देशन गर्ने निर्देशकका रुपमा परिचित छन् ।