ब्युटी न्युज नेपाल
काठमाडौं, ११ कात्तिक
चलचित्र कलाकार संघले बिगत झै यसपटक पनि दशैंको शुभकामना आदन प्रदान सहित टीका कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको लाजिम्पाट स्थित नेपाली चुल्होमा आयोजित सो कार्यक्रममा अग्रज लेखक, निर्देशक यादव खरेललगायतले कलाकारलाई टिका र जमरालगाई आर्शिवाद दिए । संघका निवर्तमान अध्यक्ष रबिन्द्र खडकाको संयोजनमा आयोजना गरिएको यो कार्यक्रमको सहजीकरण अभिनेता लय संग्रौलाले गरेका थिए ।
संघ स्थापनाको ३५ बर्ष पुगेकाले यस बर्ष सबैलाई टिका र जमरासँगै ३५ रूपैया दक्षिणा प्रदान गरियो । दक्षिणाको सो रकम संघका महासचिब तथा अभिनेता सविन श्रेष्ठले नीजि रुपमा प्रदान गरेका थिए । सहभागी अधिकांसले प्राप्त दक्षिणामा रकम थप गरी संघको कल्याणकारी कोषलाई रकम प्रदान गरे । संघका कोषाध्यक्ष सुनिल कटुवालले सुरुमा दक्षिणका रकम ३५ रुपैयाँमा ३५ सय थपेर कोषमा प्रदान गरेपछि धेरैले दक्षिणामा पैसा थपेर कोषलाई प्रदान गरेका हुन् । संघले सह कोषाध्यक्ष पबित्रा आचार्यको संयोजकत्वमा कलाकार कल्याणकारी कोष गठन गरेको छ । सो कार्यक्रमबाट ३५ हजार रुपैयाँ भन्दा बढी रकम कोषमा जम्मा भएको छ । नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष शिवहरि बैरागी नेपाल, सचिव रामेश्वर वुर्लाकोटी सहित संघका पदाधिकारीहरुले दशैं शुभकामनालाई व्यबस्थित तुल्याएका थिए ।
कार्यक्रममा संघका अध्यक्ष मोहन निरौला, पुर्ब अध्यक्ष कृष्ण मल्ल्ल, सल्लाहकार राजकुमार राई ,निर्मल शर्मा, मुकुन्द किशोर भट्टराई, उत्तम केसी, धिरेन शाक्य,रश्मी भट्ट, पुरन जोशी, सुचित्रा श्रेष्ठ, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली,द्वन्द संघका अध्यक्ष नारायण प्रधान, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, अनेशाश नेपाल च्यापटरका अध्यक्ष राजेन्द्र केसीलगायतले अग्रजबाट टिका र जमारा ग्रहण गरे ।