ब्युटी न्युज नेपाल
काठमाडौं, ११ कात्तिक
चलचित्र परदेशी शुक्रबारबाट तेश्रो सातामा प्रदर्शन भईरहेको छ । यो चलचित्र गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको हो । पहिलो र दोश्रो साता दर्शकबाट राम्रो साथ पाएको सिनेमाले तेश्रो सातामा पनि दर्शको राम्रो साथ पाउने अपेक्षा निर्माण टिमको छ ।
निर्माण टिमका अनुसार सिनेमाले पहिलो हप्ता बक्सअफिसमा करिब ३ करोड ३० लाख हाराहारी ग्रस कलेक्सन गरेको छ । सुरुवाती दिनमा औसत व्यापार गरेको सिनेमाले साताका अन्तिमतिर राम्रो पिकअप लिएको निर्देशक नारायण रायमाझीले बताएका छन् ।
दोस्रो सातामा पाएको शो सङ्ख्याले पनि दर्शकले सिनेमा रुचाएको प्रमाणको रुपमा बुझ्न गाह्रो पर्दैन् । हलमा सिनेमा हेरेर निस्कने दर्शकको आँखा रसाएका दृश्य समाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिनुले पनि सिनेमा सफलताको बाटोमा हिडेको बुझिन्छ । दर्शकको राम्रो साथ पाएपछि डेव्यु अभिनेता प्रकाश सपुत अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटीलाई नारायणगढ, बुटवल, र नेपालगञ्ज पुगेर दर्शकसँग साक्षात्कार गर्नुका साथै दर्शकसँग सिनेमाको खुशी साटेका थिए । दर्शकबाट राम्रो साथ पाएपछि निर्माता राजेश बंशल र निर्देशक नारायण रायमाझिले खुशी व्यक्त गरेका छन् । दर्शकको यो साथ र सर्पोटले आगामी दिनमा अझै राम्रो सिनेमा निर्माण गर्ने उर्जा मिलेको उनीहरु बताउँछन् ।
यो चलचित्रमा उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथा समेटिएको छ । जसमा प्रकाश सपुत, वर्षा शिवाकोटी, केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।
नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको सिनेमानमा गीतकार रमेश बिजीको लेखन छ । निर्देशक रायमाझी र राजेश वंशलले मिलेर सिनेमा निर्माण गरेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।