परदेशी–२ को त परदेशी छुकछुके रेलैमा…सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, १० असोज

यही २६ असोजबाट रिलिज हुने चलचित्र परदेशी–२ को नयाँ गीत निर्माण पक्षले युट्युबमा सार्वजनिक गरिएको छ । नारायण रायमाझी निर्देशित यो चलचित्रमा समावेश ‘परदेशी छुकछुके रेलैमा…’ झ्याउरे गीतको भिडियो बुधवार बिहान रिलिज गरिएको हो ।

यो गीतको भिडियोमा चलचित्रमा मुख्य कलाकारहरु अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसँगै अर्का अभिनेता प्रशान्त तामाङलाई पनि प्रस्तुत गरिएको छ । शेखर घर्ती मगर, पूर्ण लामा र विवेक खड्का, रविता मगर, पवित्रा गुरुङ, विन्दु खड्का, लाक्पा लामा, सरस्वती धिमाल, प्रजी अहिना सुनार लगायतको नृत्य भिडियोमा हेर्न सकिन्छ ।

भिडियोका निर्देशक रामजी लामिछाने र गोविन्द राई हुन् । यसमा नृत्य निर्देशन भने कुलमान नेपाली र शेखर घर्ती मगरको हो ।

यो गीतमा निर्देशक रायमाझी स्वयंमसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ । शब्द पनि निर्देशक रायमाझी स्वयंमले लेखेका हुन् । उनीसँगै प्रेमदेव गिरीले यसमा संगीत दिएका छन् ।

नेपाली चलचित्रमा कमै मात्र समावेश गरिने यसप्रकारको मौलिक झ्याउे गीतले स्रोता–दर्शकलाई फरक स्वाद दिने निर्माण पक्षको विश्वास छ ।

राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको चलचित्रमा प्रकाश, केकी र प्रशान्तका साथमा वर्षा शिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको अभिनय छ । चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् ।

मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । युवापुस्तामा रहेको विदेश मोहको कथामा आधारित चलचित्र सेन्सर पास भइसकेको छ ।