चरित्र अभिनेता सानु ताम्राकारको अन्त्यष्टी


ब्युटी न्युज नेपाल
काठमाडौं, १० भदौ

चरित्र अभिनेता सानु ताम्राकारको आईतबार विहान पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । उनको ७४ वर्षको उमेरमा उपचारको क्रममा शनिबार दिउँसो ३ः२० बजे उनको काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।

नेपाल चलचित्र कलाकार संघका पूर्व कार्यबाहक अध्यक्ष समेत रहेका सानुको आईतबार बिहान पशुपति आर्यघाटमा श्रद्धाञ्जली शभा राखिएको थियो । विभिन्न चलचित्रकर्मी तथा शुभचिन्तकले उनको पार्थिव शरीरमा फुल चढाएर श्रद्धाञ्जली दिएपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।

उनको छोरा शारुक ताम्राकारले गत २१ असारमा आफ्नै निवासमा आत्महत्या गरेका थिए । छोराको निधनपछि शोकका कारण सानु विरामी परेका थिए । सोही क्रममा उनको नर्भिक अस्पतालको आइसीयूमा राखेर उपचार भैरहेको थियो । उपचारको क्रममा उनको २८ औं दिनमा निधन भएको हो । उनको मृगौला सम्बन्धि समस्याका कारण निधन भएको अस्पतालले जनाएको छ ।

छोराको निधन पछि नै शोकका कारण उनको मृगौला बिग्रिएको थियो । नर्भिक अस्पतालमा डाईग्नोसिस हुँदै आएकोमा उनको मिगौला सम्बन्धि समस्याले नै निधन भएको चिकित्सकहरुले बताएका छन् ।

यसरी छोराको निधनको ५० दिनमा बुबा एवम् कलाकार सानुको पनि शनिबार निधन भएको हो । अब सानुको परिवारमा एक श्रीमान मात्र छिन् । सानुका छोरा शारुक ताम्राकारले गत २१ असारमा काठमाडौंको सहिदमार्ग ज्ञानेश्वर स्थित आफ्नै निवासमा झुन्डिएर ज्यान दिएका थिए ।
२००६ साल असारमा काठमाडौंमा जन्मिएका कलाकार सानु ताम्राकारले चरित्र अभिनेताको रुपमा सिनेमामा काम सुरु गरेका थिए । नेपाल चलचित्र कलाकार संघमा लामो समयदेखि आबद्ध उनले तीन कार्यकालसम्म बरिष्ट उपाध्यक्ष तथा ६ महिना कार्यबाहक अध्यक्ष भएर काम गरेका थिए ।

उनी चलचित्रमा आउनु अघि शास्त्रीय नृत्यकारका रुपमा चर्चित थिए । देश बिदेशमा शास्त्रीय नृत्य प्रस्तुति पश्चात चलचित्र जीवन रेखाबाट चलचित्र अभिनयमा चरित्र अभिनेताको रुपमा प्रवेश गरेका उनले पाँच दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका थिए । उनले अभिनय गरेका चर्चित चलचित्रहरुमा बदलिँदो आकाश, निरमोही, जुनतारा, मोहनी, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, छोरो, बाबुसाहेब, लगनगाँठो, पल, जिद्धी, फेरी तिम्रो याद आयो, आँधी तुफान, दशगजा, मन मनै मन पराएँ, भूँइमान्छे, मेरी मामुलगायत हुन् ।

नेपाल टेलिभिजन स्थापनासँगै उनले त्यहाँका दर्जनौ टेली चलचित्रमा चरित्र अभिनेताको रुपमा अभिनय गरेका थिए । मिस्टर फत्ते, बाचा बिर्सेको छैन, पुष्पाञ्जली, मृगतृष्णा, दुईदिनको जिन्दगी, बलेसीसहित उनले तीन दर्जन भन्दा बढी टेली चलचित्रमा अभिनय गरेका थिए ।

उनी त्यत्तिकै कुशल जादुगर पनि थिए । नेपालसँगै उनले अन्तराष्ट्रिय स्तरमा समेत जादु देखाएर आफुलाई चिनाउँदै आएका थिए ।