सिनेमाघर एपमा महापुरुष रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ भदौ

चलचित्र महापुरुष शुक्रवारबाट नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाघर र चलचित्र टीमले यसबारेमा जानकारी गराएको छ । प्रदीप भट्टराईको निर्देशनमा बनेको चलचित्रलाई २ सय रुपैयाँ तिरेर हेर्न सकिनेछ ।

सिनेमाघरका अध्यक्ष खगेन्द्र लामिछानेले महापुरुषलाई हलमा जस्तै एपमा पनि दर्शकको राम्रो साथ मिल्नेमा विश्वास व्यक्त गरे । लामिछानेले यूट्युबमा सित्तैमा चलचित्र हेरिरहेका दर्शकलाई एपमा पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि अब एप्लिकेसनमा पैसा तिरेर चलचित्र हेर्ने बानीको विकास भइरहेको बताए ।

महापुरुषका प्रमुख अभिनेता हरिवंश आचार्यले डिजिटल माध्यममा ठुलो सङ्ख्यामा दर्शकहरू रहेको बताए । पहिलो पटक ओटीटी प्लेटफर्ममा आफ्नो फिल्म रिलिज भएकोमा खुसी व्यक्त गरे । अहिले डिजिटल मार्केट फराकिलो भैसकेको र यसले कलाकारलाई जीवित बनाइराखेको बताउँदै उनले सिनेमाघर एप नेपाली फिल्म क्षेत्रका लागि बरदान सावित भएको बताए । नेपाली फिल्मका लागि नयाँ प्लेटफर्म जन्मिनु राम्रो कुरा रहेको उनको भनाई छ ।

अभिनेता तथा निर्माता रबिन्द्र सिंह बानियाँले हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित हेरेर चलचित्रलाई डिजिटल रिलिज गर्न लागेको बताए । यसअघि चलचित्र जात्रै जात्रा निःशुल्क रिलिज गर्दा समेत दर्शकले इन्टरनेटको पैसा तिरेकोमा निःशुल्क नभएको प्रतिक्रिया जनाएको सम्झना गर्दै अहिले परिस्थिती बदलिएको जिकिर गरे । उनले दर्शकले सोच्ने तरिका बदलेको बताउँदै सिनेमाघर एपमा ुमहापुरुषु सफल हुने विश्वास जनाए ।