अष्ट्रेलियामा सलोन र केकीको चलचित्र जय होले पायो ८७ शो


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ भदौ

चलचित्र जय हो यही ८ भदौबाट रिलिज हुँदैछ । यो चलचित्र नेपालसँगै विश्वभर प्रदर्शन हुने भएको छ । यो चलचित्रले अष्ट्रेलियामा मात्रै ८७ सो पाएको यसका प्रस्तुतकर्ता शोभित बस्नेतले बताएका छन् । अष्ट्रेलियाको क्यान्बेरा, तास्मानिया, भिक्टोरियालगायत अष्ट्रेलियाको ८ मुख्य सहरहरुमा जय होले ८७ सो पाएको उनले जानकारी गराएका छन् ।

यो चलचित्रमा केकी अधिकारी, सलोन बस्नेत, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतको मुख्य भूमिका छ । केकी र सलोन पहिलो पटक यो चलचित्रमा जोडीको रुपमा प्रस्तुत भएका हुन् ।

सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको यो चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो फिल्मबाट बक्सअफिसमा सफल हुने आशमा छन् ।

यो चलचित्रको नेपालका सिनेमा हलमा मँगलबारबाट अग्रिम टिकटको बुकिङ खुला गरिएको छ । जय होमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।