ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ साउन
अभिनेत्री पूजा शर्माको शिर्ष भूमिका रहेको नेपाली चलचित्र ‘दान्भी’को हाल छायांकन भैरहेको छ । काठमाडौंको नैकापमा सेट नै लगाएर यसको निर्माणपक्षले क्लाइमेक्सका दृश्यहरु खिचिरहेको छ ।
यो चलचित्रमा श्री श्रेष्ठले एक्सन निर्देशन गरिरहेका छन् । जहाँ, नायिका पूजा शर्माको एक्सनको दृश्य खिचिएको निर्देशक रुपेश तामाङले जानकारी दिए । फिल्म ‘दान्भी’को क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको निर्देशक तामाङले जानकारी दिए । उनले भने–‘फिल्मको क्लाइमेक्सका लागि हामीले निकै मिहिनेत गरिरहेका छौ । दर्शकले साउथ र बलिउड फिल्ममा देख्दै आउनुभएको उच्च तहको एक्सन नेपाली फिल्ममा पनि अब देख्न पाउनुहुनेछ ।’
यो चलचित्रमा पूजाको साथमा नायक कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन् । फिल्मको क्लाइमेक्स र केही एक्सनको दृश्य खिचेर यसको निर्माणपक्ष बाँकी दृश्यका लागि दार्जिलिङ प्रस्थान गर्नेछ ।
हरि लामा घलेको छायांकनमा तयार भैरहेको फिल्मका सह–निर्देशक नवराज शर्मा हुन् । फिल्ममा कथा रविना थापा मगरको छ भने पटकथा तथा संवाद संजोग रानाको छ । फिल्ममा अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । अनुप गदाल र देव मगरको लगानीमा तयार भैरहेको यो फिल्ममा कमला लिम्बु र गोकुल सुवेदी सह–निर्माताको रुपमा छन् ।
फिल्मको क्लाइमेक्सका लागि ३ दिनदेखि काम गरिरहेकी नायिका पूजा शर्माले भनिन्–‘फिल्मको मेकरले एक्सनका लागि कुनै कसर बाँकी राख्नु भएको छैन । मैले पनि आफूले सकेको मिहिनेत गरिरहेको छु । आशा छ, दर्शकले नेपाली फिल्ममा एक्सनको नयाँ प्रयोग हेर्न पाउनुहुनेछ ।’ पूजाले एक्सनमा काम गर्न सजिलो नभएको समेत तर्क गरिन् । फिल्म ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छैन ।