प्रतिविम्ब भित्र जुगल र मुकुन्द


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ साउन

आधुनिक, पप, लोक भावका गीतहरु मिश्रित नयाँ गीतिसँग्रह ‘प्रतिविम्ब’ सार्वजनिक गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाले जुम मार्फत कार्यक्रम आयोजना गरेर यो गीति सँग्रहलाई सार्वजनिक गरेको छ । यो गीतिसँग्हमा बरिष्ट गीतकार डा. मुकुन्द पथिकको एकल रचना रहेको छ । ती सबै गीतहरुमा बरिष्ट संगीतकार जुगल डँगोलले एकल संगीत गरेका छन् । सोही कार्यक्रममा यो गीतिसँग्रहको छोरो पायो बुहारीलाई छोरी पायो ज्वाईंलाई…गीतको भिडियो पनि सो कार्यक्रममा सार्वजनिक गरियो । यो भिडियोमा गायक मदन कृष्ण श्रेष्ठले सो गीत गाएको देखाईएको छ ।

जुम मार्फत आयोजित सो समारोहमा बोल्दै साहित्यसँग संगीत जोड्दै डा. पथिकको गीतिसंग्रह सार्वजनिक गर्न पाएकोमा निकै खुसी लागेको अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष गोवर्धन पुजाले बताए ।

सो कार्यक्रममा डा. चुडामणी बन्धु, प्रा.डा. जयराज आचार्य, कवि मञ्जुललगायत विभिन्न अतिथिहरुको संगीतकार जुगलको संगीत सृजना तथा गीतकार पथिकको गीतमाथि प्रकाश पारे । सोही कार्यक्रममा बोल्दै अग्रज कलाकार मदनकृष्ण श्रेष्ठले अहिलेको सामाजिक बिकृति र प्रत्यक घर घरको कथा समेटिएका गीतहरु यो सँग्रहका लागि गाउन पाउँदा खुसी लागेको बताए ।

यस्तै यस गीति संग्रहका संगीतकार जुगल डँगोलले भने,‘ प्रचलित गीतबाट पर हटेर डा. पथिकले यसपटक सामाजिक यथार्थपरक गीतहरुलाई यो सँग्रहमा ल्याउनु भएको छ । यी गीतहरु समाज परिवर्तनकालागि सुचक बन्न सक्छ भन्ने आशा मैले गरेको छु ।’

यस्तै गीतकार डा. मुकुन्द पथिकले पनि आफ्नो गीतको भावमा संगीतबाट जुगल डँगोलले न्याय गरेको बताएका छन् । सामाजिक यथार्थपरक भावका यी गीतहरु राम्रो बनेको उनले जिकिर गरे ।

यो गीतिसँग्रहमा ६ वटा गीतहरु रहेका छन् । सँग्रहमा शुभकामना, छोरो पायो बुहारीलाई, बिदेशमा पढ्न गयो, प्रेमको प्रस्ताव, कोही मर्दा र नेपालमा जन्मेकी हुँ गीत सँग्रहित छन् । पछिल्लो समय एकल गीत निकाल्ने गरिएकोमा गीतकार पथिक र संगीतकार डँगोलले ६ वटा गीत समेटेर यो सँग्रह ल्याएका हुन् । गीतको बाँकी अरु भिडियो भने बिस्तारै निर्माण गर्दै जाने उनले बताए ।

यी गीतहरुलाई अग्रज कलाकारहरु मदनकृष्ण श्रेष्ठ, संगीता प्रधान राना, सुगम पोखरेल, हेमन्त कान्छा रसाईली, निशान भट्टराई र प्रिजा मिश्रको स्वर रहेको छ । यी सबै गीतहरुको संगीत संयोजना पनि जुगल डँगोलकै हो । गीतलाई आर्टोम्युज रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।