१२ वर्षपछि आयो गायक शिबको एकल एल्बम


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ साउन

गायक तथा संगीतकार शिव परियारको एकल स्वर तथा संगीतमा नयाँ गीतिसँग्रह तिमी र म श्रोतामाझ आएको छ । उनले १२ वर्षपछि एकल गीतिसँग्रह ल्याएका हुन् । यो बीचमा उनको सिँगल ट्रयाक गीतहरु मात्र आएका थिए ।

गीति सँग्रह तिमी र म कवि तथा गीतकार सागर फुयालको एकल शब्द संग्रहित एल्बम हो । शब्दाङ्कुर मासिकका प्रधान सम्पादक धीर कुमार श्रेष्ठ, गायक ,सङ्गीतकार शिव परियार, गीतकार सागर फुयाल, अभिनेत्री मिरुना मगर, अभिनेता अनुप बिक्रम शाहीले यो गीतिसँग्रहको काठमाडौंमा संयुक्त रूपमा विमोचन गरेका छन् ।

यस एल्बममा ६ ओटा गीतहरु समावेश भएको छ । समावेश गीतको बोलहरु तिमी हौ सबथोक मेरो, तिमी र म अनि शीतल धुन, मेरो ज्यान भन्छ्यौ भने, हाम्रो माया एक नदीको दुई किनार, जिउन मन छैन अधर तिम्रो नहेरी र तिमी फूल हौ सुगन्ध छर्नु पर्छ तिमीले जस्ता गीतहरु संग्रहित छन् ।

संग्रहको बिमोचन समारोहमा संग्रह भित्रएको एक गीत तिमी हौ सबथोक मेरोको भिडियो सार्वजनिक गरियो । यो भिडियोमा अभिनेता अनुप बिक्रम शाही र अभिनेत्री मिरुना मगरको अभिनय रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन र हरि हुमागाईंले छायाँकन गरेका छन् ।

सोही कार्यक्रममा केक काटेर अभिनेत्री मिरुना र अभिनेता अनुपविक्रमको जन्मदिन मनाईयो । यो गीतको भिडियोबाट आफुहरुले पहिलो पटकसँगै काम गरेको भन्दै यी दुईले कार्यक्रममा आफ्ना अनुभव सुनाए ।