ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ असार
११ दिन अघि काठमाडौंको ज्ञानेश्वर, सहिद मार्ग स्थित आफ्नै घरमा झुण्डिएको अबस्थामा मृत भेटिएका अभिनेता शारुक ताम्राकारको निधनबारे अनुसन्धानको लागि नेपाल चलचित्र कलाकार संघले माग गरेको छ ।
अभिनेता शारुक र अभिनेत्री नम्रता श्रेष्ठ प्रेममा भएको भन्ने चर्चा चलिरहेको बेला शारुकको आत्महत्यबारे दैनिक नयाँ नयाँ कुराहरु बाहिर आएका छन् । यही कुरालाई मध्यनजर राख्दै नेपाल चलचित्र कलाकार संघले आईतबार एक बिज्ञप्ति जारी गर्दै उनको मृत्यु र सोबारे आएका समाचारप्रति संघको ध्यानाकर्षण भएको जनाईएको छ ।
कलाकार संघका अध्यक्ष मोहन निरौलाद्धारा प्रेषित बिज्ञप्तिमा लेखिएको छ,‘नेपाल चलचित्र कलाकार संघका सदस्यसमेत रहेका अभिनेता शारुक ताम्राकारले हाल अभिनय गरिरहेको चलचित्रका जिम्मेवार सदस्यले चलचित्रको छायाँकनको क्रममा भएका घटना र सन्दर्भहरु विभिन्न अनलाईन मार्फत अभिव्यक्ति गर्नु भएकाले सो सम्बन्धमा पनि छानविन गर्ने निकायले अनुसन्धान गरी यदि कोही दोषी देखिए सत्य तथ्य उजागर गरी कानुनको दायरामा ल्याई कडा भन्दा कडा कानूनी कारवाही गर्न जोडदार माग गर्दछौं ।’
शारुकको निधनलाई लिएर चलचित्र उधोगका सबै पशोकर्मीहरु शसंकित भईरहेको र यो घटनाको न्यायिक छानविन हुनुपर्दछ भन्ने आबाज उठिरहेकाले सो विषयमा गहिरो छानबिन गरी सत्य तथ्यलाई प्रकाशनमा ल्याईदिनको लागि संघ सम्बन्धित निकायसंग माग गर्दछ भन्ने कुरा पनि बिज्ञप्तिमा लेखिएको छ ।