ब्युटी न्युज नेपाल
काठमाडौं, १२ जेठ
भारतको प्रतिष्ठित छैठौं संस्करणको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटलमा आयोजना हुने भएको छ । आयोजक संस्था फर्न इभेन्ट्सले होटल र्याडिसनमा बिहिबार पत्रकार भेटघाट आयोजना गर्दै सो अवार्डबारे जानकारी गराएको छ ।
आयोजक संस्थाका सह–संस्थापक हरिश बब्बरले नेपालको पर्यटन पर्वधनको लागि यो अवार्डले ठुलो भूमिका खेल्ने कार्यक्रममा बताए । भारतका विभिन्न मुख्य मुख्य शहरहरुमा विगत एक दशकदेखि आयोजना गरिँदै आएको यो अवार्ड्स पहिलोपटक भारत बाहिर नेपालमा आयोजना हुन लागेको पनि उनले बताए । भविष्यमा अन्य अन्तर्राष्ट्रिय मुलुकमा समेत आयोजना गर्ने योजना रहेको बब्बरले सो कार्यक्रममा प्रकाश पारे ।
अवार्ड समारोहमा नेपाल तथा भारतका चलचित्र, सङ्गीत, पत्रकारिता, पर्यटन, खेलकुद आदि क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिने पनि आयोजक पक्षले पत्रकार भेटघाटका क्रममा जनाएको छ,‘ यो अवार्ड समारोहले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा भाइचाराको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास हामीले लिएका छौं ।’ आयोजक संस्थाका सह–संस्थापक हरिश बब्बरले पत्रकार भेटघाट कार्यक्रममा भने,‘कोभिड १९ पछि थलिएको दुबै देशको पर्यटन व्यवसायलाई यो अवार्ड समारोहले उर्जा दिनेछ भन्ने हाम्रो विश्वास छ’ ।
नेपाली र भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने सो समारोहमा नेपालका सेलिब्रेटीहरुसँगै अभिनेत्री भाग्यश्री, अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंह सहित एक दर्जन भारतीय सेलिब्रेटीहरुको समेत सहभागि हुने कार्यक्रममा जानकारी गराईयो ।
सो कार्यक्रममा नेपालको सांग्रिला भोयाजले ट्राभल पार्टनरको रुपमा सहभागिता जनाउने छ । पत्रकार सम्मेलनमा अत्यन्तै छोटो समयका बाबजुद पनि भारतबाट आउने सेलिब्रेटीहरुलाई नगरकोटको साइट सिन गराउने योजना रहेको जानकारी गराउँदै सांग्रिला भोयाजका प्रवन्ध निर्देशक दीपक खनालले यो अवार्ड समारोहले नेपाल तथा भारतबीच पर्यटन प्रबर्धननमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
‘पोखरा र सौराहा पनि लाने ईच्छा थियो । उहाँहरुको समय अभावका कारण नगरकोटको भ्रमण पछि पशुपतिनाथ दर्शन गराउने योजना बनाएका छौं’ प्रवन्ध निर्देशक खनालले भने । अवार्ड समारोहमा नेपालको तर्फबाट सृजना शुत्रले सहभागिता जनाएको छ भने सजल जंग के.सी.ले इभेन्ट म्यानेज्मेन्टको जिम्मा लिएका छन् ।