ब्युटी न्युज नेपाल
काठमाडौँ, २० चैत
गत महिना निर्वाचित चलचित्र पत्रकार संघ नेपालको केन्द्रिय समितिले शनिबार र आईतबार काभ्रेको धुलिखेलमा चौथो पूर्ण बैठक तथा नीति तथा परामर्श भेला आयोजना गरेको छ । संघका अध्यक्ष्प समीर बलामीको अध्यक्षतामा बसेको सो बैठकमा संघका पूर्व अध्यक्ष तथा सल्लाहकारहरु बिदुर गिरी, शान्तिप्रिय, सल्लाहकार डब्बु क्षत्री, निर्वतमान अध्यक्ष दिनेश सिटौला, संघको कार्यसमिति, विभिन्न शाखाका पदाधिकारीहरु र विभिन्न विभागका संयोजक तथा सदस्यहरु थिए । १८ र १९ चैतमा काभ्रे जिल्ला धुलिखेल स्थित इको रिसोर्टमा सम्पन्न सो चौंथौं पुर्ण बैठक एवम् नीति तथा परामर्श भेलाले समितिका संयोजक तथा सदस्यहरुलाई जिम्मेवारी तोकेको छ । संघका पदाधिकारीहरुले आफ्नो आगामी योजना सो बैठकमा प्रस्तुत गरेका थिए ।
सो क्रममा १९ चैतको नीति तथा परामर्श भेलाले १२ बुँदे घोषणा पत्र जारी गरेको छ । बैठकले बार्षिक कार्य योजनाको लागी नीति तथा परामर्श भेलामा विभिन्न सुझाव संकलन समेत गरिएको महासचिव रघुनाथ सापकोटाले जानकारी गराए । सल्लाहकार डब्बु क्षत्रीको संयोजनमा मनिष अन्जान दाहाल, मनोज न्यौपाने, सरिता भारती र निशा बजगाईं सदस्य रहेको समितिले सो घोषणापत्र तयार गरेको थियो ।
चौथौं पूर्ण बैठक र नीति तथा परामर्श भेलाले जारी गरेको १२ बुँदे धुलिखेल घोषणा पत्र यस प्रकारको रहेको छ ।
१. संघीय र प्रदेश सरकारले पत्रकारितासँग सम्बन्धित संघ संस्थालाई हरेक वर्ष दिँदै आएको अनुदान रकम चलचित्र पत्रकार संघलाई प्राथमिकताका साथ उपलब्ध गराउन यो बैठक सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछ ।
२. सरकारले निर्माण गरेको समावेशी सञ्चार नीति तत्काल कार्यान्वायन गर्न यो बैठक जोडदार माग गर्दछ । साथै, चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि सरकारी निकायबाट विभिन्न कार्यक्रम आयोजना माग गर्दछ।
३. श्रमजीवी पत्रकार ऐनले पत्रकारका लागि तय गरेको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्न यो बैठक जोडदार माग गर्दछ।
४. विज्ञापन बोर्डले प्रदान गरिने समानुपातिक विज्ञापन प्रणाली कार्यान्वायनमा फितलो रहेको र पहुँच भएकाले मात्र पाउँदै आएकाले समावेशी रूपमा साना तथा मझौला मिडिया र स्वरोजगारमुखी मिडियालाई पनि वितरण गर्न यो बैठक माग गर्दछ । साथै कला, चलचित्र तथा मनोरञ्जन विधा केन्द्रित मिडियालाई पनि समावेशी प्रणालीमा विज्ञापन वितरण गर्न यो बैठक जोडदार माग गर्दछ ।
५. नेपाली चलचित्रलाई बजार प्रवर्धन गर्दै अन्तर्राष्ट्रियकरणका लागि चलचित्रसँग सम्बन्धित संघसंस्था, चलचित्र विकास बोर्ड र सम्बन्धित सरकारी निकायले चलचित्र पत्रकारसँग समन्वय र सहकार्य गरि कार्यक्रम व्यवस्थापन गर्न यो बैठक जोडदार माग गर्दछ ।
६ं. चलचित्र पत्रकारलाई दक्ष बनाउन पत्रकारमुखि विविध कार्याशाला तथा प्रशिक्षण कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नका लागि संंघीय सरकार, प्रदेश सरकार, चलचित्र विकास बोर्ड र नेपाल पत्रकार महासंघसँग यो बैठक जोडदार माग गर्दछ।
७ं. नेपाल सरकार एवं चलचित्र विकास बोर्ड र प्रेस काउन्सिल तथा नेपाल पत्रकार महासंघले प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार तथा सम्मानमा चलचित्र पत्रकारलाई पनि समावेश गर्न यो बैठक जोडदार माग गर्दछ ।
८. चलचित्रसँग सम्बन्धित संघ संस्था तथा सरकारी निकायबाट हुने गरेका चलचित्रसम्बन्धी अनुगमन, मुल्यांकन तथा विदेश भ्रमण÷अवलोकनजस्ता कार्यक्रममा चलचित्र पत्रकारलाई अनिवार्य सहभागि गराउन यो बैठक जोडदार माग गर्दछ।
९. चलचित्र पात्रकारको स्वास्थ्य र दुर्घटना विमाको व्यवस्थाका लागि संघिय सरकार र प्रदेश सकारसँग यो बैठक माग गर्दछ ।
१०. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि नेपाल सरकार तथा सम्बद्ध निकायसँग माग गर्दछ।
११. नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धी र बजार व्यवस्थापनका लागि चलचित्र विकास बोर्डले तयार गरेको चलचित्र नीति तथा कार्यक्रमलाई यथाशक्य कार्यान्वयन गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालय तथा संघिय सरकारसँग जोडदार माग गर्दछ ।
१२. नेपाली चलचित्रसँग सम्बन्धित पेसागत तथा व्यावसायिक संघसंस्था र चलचित्र पत्रकार संघ नेपालको आपसि सहकार्य र समन्वयका लागि यो बैठक माग गर्दछ ।