चौथा एसइइ डान्स च्याम्पियनसिनमा २८ प्रतिस्पर्धीलाई प्लसटुमा पूर्ण छात्रबृत्ति


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ फागुन

एसइइ दिएर बसेका विधार्थीहरुलाई लक्षित गरेर बिगत चार वर्षदेखि देशव्यापी रुपमा आयोजना हुँदै आएको ‘एसइइ डान्स च्याम्पियनसिन’को चौथो संस्करण घोषणा गरिएको छ । यो प्रतियोगिताको फाईनलमा पुगेकाहरुले प्लस टुको अध्ययनका लागि पूर्ण स्कलरसिप पाउने भएका छन् । यो प्रतियोगिताको चौथो संस्करणको अडिसन आगामी नयाँ वर्षसँगै हुने भएको छ ।

यो प्रतियोगिताको लागि आगामी चैतमा एसइइ दिएर बसेका विधार्थीहरुले भाग लिने पाउने आयोजक संस्थाका अध्यक्ष एवम् बरिष्ट कोरियोग्राफर महेश गोदारले बताएका छन्,‘हामीले सबै प्रदेशमा बैशाखको पहिलो साताबाट अडिसन शुरु गर्ने छौं । उनीहरुको नृत्यको आधारमा अडिसन लिएर प्रत्यक प्रदेशबाट फाईनलको लागि ३ जना चयन गरिने छ ।’

माविहरुको संस्था ‘हिसान’को सहकार्यमा काठमाडौंको कपनमा रहेको बज्रायोगिनी डान्स एन्ड म्युजिक एकेडेमीले यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यो प्रतियोगितामा नेशनल प्याब्सन र प्याब्सनको समेत सहकार्य रहेको पनि गोदारले जानकारी गराएका छन् ।
यी सहित काठमाडौंबाट १० जना चयन गरेर कुल २८ जना प्रतियोगीबीच आगामी २३ असारमा काठमाडौंको नाचघरमा अन्तिम प्रतिस्धर्पा हुने छ ।

यसरी यो अन्तिम प्रतिस्पर्धामा चयन भएका २८ जनालाई नै कक्षा ११ र १२ को अध्ययनका लागि पूर्ण छात्राबृत्ती दिईने सहयोगी संस्था हिसानका अध्यक्ष एवम् गोल्डेन गेट कलेजका प्रिन्सिपल रमेश सिलवालले बताएका छन् ।

यो प्रतियोगितामा प्रथम हुनेले एक लाख रुपैयाँ, द्धितीय हुनेले ५० हजार रुपैयाँ र तृतीय हुनेले ३० हजार रुपैयाँ नगद सहित ट्रफी र विभिन्न पुरस्कार पनि प्राप्त गर्ने आयोजक महेश गोदारले जानकारी गराएका छन् । यो प्रतियोगिताको लागि मुलुकका विभिन्न कलेजमा आयोजक पक्षले सूचना पुर्याउने छ ।