दुबईमा नेपाली फिल्म फेस्टा गर्न सूर्य कर्पोरेशनलाई चलचित्र विकास बोर्डद्धारा ब्यबस्थापन जिम्मा


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ पौष

चलचित्र विकास बोर्डले ‘टेकिङ् नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित आयोजना गर्न लागेको ‘नेपाली सिनेमा फेस्ट २०२३’को अब सूर्य कर्पोरेशनले गर्ने भएको छ । बोर्डले सूर्य कर्पोरेशनसँग बिहिबार औपचारिक सम्झौता गरेको छ । यो कार्यक्रमको ब्यवस्थापन कर्पोरेशनलाई दिने गरी बोर्ड अध्यक्ष भुवन केसीले कर्पोरेशनका सिईओ बाशुदेव लामिछानेसँग बिहिबार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

संयुक्त अरब इमिरेट्सको दुबईमा आगामी सन् २०२३ फेब्रुवरी १३ देखि १५ (फागुन १–३ गते)सम्म यो कार्यक्रम हुने छ ।

सुचना तथा संचार प्रविधि मन्त्रालयका सचिव र चलचित्र विकास बोर्डका अध्यक्षबीचको कार्ययोजना अनुसारको बोर्डको बार्षिक कार्यक्रम अन्तर्गत नीजि क्षेत्रसँगको सहकार्यमा अन्तराष्ट्रिय स्तरमा कार्यक्रम आयोजना हुने शिर्षकमा यो कार्यक्रम आयोजना हुन लागेको बोर्ड अध्यक्ष केसीको भनाई छ ।

तीन दिनको कार्यक्रममा अरबी भाषामा सबटाईटाल गरी नेपाली चलचित्रको प्रदर्शनी, नेपालबाट जाने तथा युएईमा नै रहने कलाकारहरुको विभिन्न प्रस्तुतीहरु, युएईमा नेपाली चलचित्रको बजार विस्तार तथा छायांकन सुविधा पहलको लागि त्यहाँको सरकारका प्रतिनिधिहरु, त्यहाँस्थित नेपाली दुतावास, व्यापारी, बिशिष्ट व्यक्तिहरु तथा कलाकर्मीहरूबीच अन्तर्क्रिरया हुने बोर्ड अध्यक्ष केसीले बताएका छन् ।

कार्यक्रममा ‘फिल्मीङ् डेष्टिनेशन अफ नेपाल’ परियोजना अन्तर्गत गण्डकी प्रदेशको डकुमेन्ट्री दुबईका कुटनितिक अधिकारीहरुको साथमा अरबी भाषामा सबटाईटल गरी प्रदर्शन हुने पनि बिहिबार कार्यक्रममा जानकारी गराईयो ।

पत्रकार सम्लेनमा बोर्ड अध्यक्ष भुवन केसीले अन्तराष्ट्रिय स्तरमा नेपाली चलचित्रको बजार विस्तारको पहलको लागि सुरु गरिएको यो कार्यक्रम नेपाली राष्ट्रिय चलचित्र उद्योगको लागि अत्यन्त महत्वपूर्ण रहेको दाबी गरे ।

उनले नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको युएईमा नेपाली चलचित्रको सेन्सरमा सहजता ल्याउन, निरन्तर रुपमा चलचित्र प्रदर्शनीको वातावरण मिलाउन, नेपाल आँफैमा एक खुल्ला छायांकन स्टुडियो हो भनेर संसारलाई चिनाउन, युएई र नेपालको कलासंस्कृतिको सहकार्यताको लागि यो कार्यक्रमले महत्वपूर्ण भुमिका निभाउने जिकिर गरे । नेपालबाट नजिक भएको र लागत पनि सस्तो पर्ने भएकोले दुबईलाई कार्यक्रम आयोजनास्थल रोजेको केसीले बताए ।

बोर्डसँग यूएईपछि अन्य अन्तर्राष्ट्रिय बजारमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने योजनाहरु रहेको पनि कार्यक्रममा बताईयो ।