दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको ग्रान्ड फिनाले २१ कात्तिकमा


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ असोज

गत असोजको पहिलो साता हुने भनिएको ‘दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ अब आगामी कात्तिक २१ गते हुने भनिएको छ । यस अघि यो अवार्ड रशियन कल्चरल सेन्टरमा हुने भनिएकोमा अब यसको ग्रान्ड फिनाले काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजन हुने आयोजक संस्थाले जनाएको छ ।

यो अवार्डको गत भदौमा मनोनयन सार्वजनिक गरिएको थियो । सोही कार्यक्रममा यो अवार्ड असोजको पहिलो साता आयोजना गरिने घोषणा गरिएको थियो । तर त्यतिबेला काठमाडौंमा डेंगोको महामारी फैलियो । आयोजक टिम समेत डेंगोबाट प्रभावित भएपछि यो अवार्ड त्यतिबेला स्थगित गरिएको थियो । अब भने कात्तिक २१ गते अवार्ड प्रदान समारोह गर्न लागिएको आयोजक संस्था क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले बताएका छन् । उनका अनुसार यसपटक विभिन्न ४० विधामा यो अवार्ड प्रदान गरिने भएको छ । चलचित्र, गीत, संगीत, म्युजिक भिडियो, फेशन तथा मोडलिङका विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ ।

यसपटक अवार्ड समारोहमा अवार्ड प्रदानसँगै विभिन्न व्यक्तिहरुलाई राष्ट्रिय सम्मान पनि गरिने भएको छ । अवार्ड समारोहमा ध्वानी सम्पादक दिका गुरुङलाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने छ । तीन दशकभन्दा लामो समयदेखि ध्वानी सम्पादकको रुपमा सक्रिय रहेका कारण उनलाई लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको पनि अध्यक्ष गुरुङले बताए । यस्तै यो वर्ष क्वालिटी इन्टरटेनमेन्ट पत्रकारिता पुरस्कार राजधानी दैनिकका कला पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरिने पनि उनले जानकारी गराए । नेपाली चलचित्र तथा गीत संगीतका विकाशमा पत्रकारिताबाट क्षत्रीले निरन्तर योगदान दिएका कारण उनलाई यो पुरस्कार प्रदान गर्न लागिएको पनि गुरुङले बताए । गतसाल यो पुरस्कार पत्रकार तुलसी गिरी ‘भावुक’ लाई प्रदान गरिएको थियो ।

‘कोरोनाको महामारी पछि सुस्ताएको नेपाली गीत संगीत तथा चलचित्र उधोगलाई माथि उठाउन दुई वर्ष अघिबाट क्वालिटी इन्टरटेनमेन्ट अवार्डको आयोजना थालिएको हो । २०७८ बैशाखदेखि २०७९ भदौको पहिलो सातासम्म रिलिज भएका गीतहरुबाट उत्कृष्ट पाँचको मनोनयन निर्णयक समितिले यस अघि नै छनौट गरेर सार्वजनिक गरिसकेको छ ।’ अध्यक्ष गुरुङले भने ।