हरिबँशको बास्तविक जीवन कथाबाट प्रेरित हो त महापुरुष ?


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ असोज

अग्रज हास्य अभिनेता हरिबँश आचार्यले केही वर्ष अघि आफ्नी श्रीमती मिरा आचार्यलाई गुमाए । त्यसपछि उनी अब लामो समयसम्म मिराको शोकमा बस्नेछन भन्ने धेरैलाई लाग्यो । तर त्यसो भएन । जेठी पत्नीको निधनको केही समयमै उनले अर्की श्रीमती विवाह गरे । आफ्नो जीवनमा कान्छी श्रीमती रमिलाको आगमन पछि हरिबँशको जीवन पहिलाकै लयमा अघि बढ्यो र बढीरहेको छ ।

यतीबेला हरिबँश आचार्यले अभिनय गरेको एउटा चलचित्रको कथा पनि उनकै जीवनसँग केही मात्रामा मेल खाने शैलीको छ । आगामी ११ कात्तिकमा रिलिज हुने चलचित्र महापुरुषको सोमबार रिलिज गरिएको ट्रेलर अनुसार आफ्नो छोराको विवाहका लागि केटी खेल्ने काम भईरहेको बेला हरिबँश भने आफ्नै उमेरकी महिला (गौरी मल्ल)सँग प्रेम झरीमा निथ्रुक्क हुन्छन् । उनको रियल कथामा छोराहरु नै आफ्नो दोश्रो विवाहको लागि सहयोगी बनेका थिए । तर चलचित्र महापुरुषको कथामा उनको दोश्रो विवाहका लागि छोराहरु भिलेन बनिदिन्छन् ।

यसरी अब छोराको विवाह गर्नेकी बाउको विवाह गर्ने भन्ने आपसी कलहमै ट्रेलरलाई पूर्णबिराम दिईएको छ । यो चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । लेखन पनि प्रदीपकै हो । जसमा हरिबँशको दाम्पत्य जीवनसँग मिल्दो कथा प्रदीपले तयार गरेका छन् । कथालाई हरिबँशकै जीवनबाट साभार गरिएको हो वा संयोग मात्र हो । यो बारेमा प्रदीपले अहिलेसम्म खुलाएका छैनन् । न त हरिबँशले कथाको बारेमा मुख खोलेका छन् ।

यद्यपि अबको तीन सातामा चलचित्र महापुरुष आउँदैछ । हास्य प्रधान यो चलचित्रमा एकल जेष्ठ नागरिकको पीडा देखाईएको छ । उत्तराद्र्धको जीवन सहाराको लागि भए पनि एकल जेष्ठ नागरिकले आफ्नो उमेर र विचारसँग मेल खानेसँग पुन विवाह गर्न सक्छन भन्ने सन्देश महापुरुषले दिन खोलेको यसको ट्रेलरले दर्शाएको छ ।

षट्कोण आर्टस्को प्रस्तुतिमा तयार भएको चलचित्र महापुरुषमा मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यलाई फेरी चलचित्रमा सँगै देख्न पाईने भएको छ । अघिल्लो चलचित्र दाल भात तरकारीपछि मह जोडी फेरी ठुलो पर्दामा प्रस्तुत हुँदैछन् । यी दुईसँगै यो चलचित्रमा गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षत्री, अन्जना बराइली, कोपिला थापा, नरेश पौडेललगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई निर्देशक प्रदीपले नै लेखेका हुन् । जसमा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ । यो चलचित्रको कार्यकारी निर्मातामा रविन्द्र सिंह बानियाँ छन् ।