क्रिकेटर सन्दीपलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ असोज

नेपाली क्रिकेट राष्ट्रिय टिमका निलम्बित कप्तान तथा अन्तराष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई सोमबार अदालतमा लागिएको छ । उनलाई थप सात दिनसम्म हिरासतमा राखेर जबरजस्ती करणीको घटनामाथि अनुसन्धान गर्न काठमाडौं प्रहरी बृत्त गौशलाले जिल्ला अदालत काठमाडौंबाट सोमबार अनुमति लिएको छ ।

१७ वर्षीया नाबालिगलाई गत ५ भदौमा जबरजस्ती करणी गरेको आरोप लागेका सन्दीपलाई बिगत ५ दिनदेखि प्रहरी हिरासतमा छन् । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको गरेको भन्दै ती नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए ।

सन्दीपलाई २० असोजमा प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल काठमाडौंबाट पक्राउ गरेको हो । दशैंको बिदा परेका कारण अदालत बन्द भएकाले सोमबार मात्र उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।