नेपाली फिल्मको क्वालिटी बलिउडभन्दा कम छैनः बलिउड निर्देशक विशाल


भारतीय अभिनेता तथा निर्देशक विशाल देसाईले नेपाली फिल्म ‘सायरा’ निर्देशन गर्दैछन् । ‘मास्टर विट्टू’ उपनामले परिचित देसाईले बालकलाकारको रुपमा धेरै फिल्ममा काम गरेका छन् । उनलाई ‘चुपके चुपके’, ‘अपनापन’, ‘अम्बर अकबर एन्थोनी’लगायतका फिल्मका अभिनेता भनेर चिनिन्छ । उनको निर्देशन रहने फिल्मलाई नेपालको डीबीआर मिडिया एण्ड मुभिज, भारतको भिजेलब्वाई प्रोडक्सन र अस्ट्रेलियाको आइविल प्रोडक्सन कम्पनीले संयुक्त रुपमा निर्माण गर्दैछ । उनीसँग गरिएको कुराकानीः–
नेपाल बसाई कस्तो रह्यो ?
निकै सुन्दर । मलाई विदेशमा छु भन्ने अनुभूति नै भएन । किनकी हाम्रो संस्कृति झैँ खाना पनि मिल्छ । हामी नजिकै छौँ । यहाँ नेपाल आउँदा पाएको सत्कारले म पहिले किन नेपाल आइन् भन्ने लागेको छ । अब नेपाली फिल्म निर्देशन गर्दैछु । नेपाल आउने जाने क्रम बढ्छ । फर्किदा यादहरु लिएर फर्किदै छु ।

कस्तो लाग्यो नेपाल ?
म काठमाडौं आसपासमा मात्र घुमे । अर्को पटक आउँदा पोखरा , लुम्बिनी घुम्ने योजना बनाएको छु । किनकी यहाँको सुन्दरता र सरलताले मलाई निकै प्रभावित बनाएको छ । विशेषत यसपटक आउँदा पशुपतिनाथको दर्शन गर्न पाए । मेरो घरमा आमा शिवभक्त हुनहुन्छ । उहाँले पशुपतिनाथको जसरी पनि दर्शन गर्नु भन्नुहुन्थ्यो । मैले मन्दिर पुगेर दर्शन गरेको फोटो पठाउँदा उहाँ निकै हर्षित हुनुभयो । उहाँ फ्लाइटमा कम्फर्ट महसुश गर्नुहुन्न । यद्दपि उहाँ पनि यहाँ आउन चाहनुहुन्छ । साथै मलाई नेपाली थकाली खाना निकै मन पर्यो । यो स्वादले मलाई पारखी बनाएको छ । म अन्य ठाउँमा पुग्दा पनि थकाली अवश्य खानेछु ।

नेपाली फिल्मको बारेमा कत्तिको जानकार हुनुहुन्थ्यो ?
नेपालको बारेमा थाहा थियो । तर नेपाली फिल्मसँग म साक्षात्कार थिइन् । मलाई निर्माता पुस्कर झाले केहि नेपाली फिल्मको ट्रेलर देखाएपछि नै निर्देशन गर्न तयार भएको हुँ । यहाँको मेकिङ र सुन्दरताले मलाई छाप छोड्न सफल भयो । हाम्रो एउटा प्रयाश पनि हो सायरा । यसलाई नेपाली र हिन्दी भाषामा प्रदर्शन गर्नेछौँ । यसले नेपाली फिल्मलाई अन्तराष्ट्रियबजारमा पुग्न मदत गर्छ भन्नेमा विश्वत छु ।

भारतमा बनिरहेका भन्दा यहाँ बनेका फिल्ममा फरक ?
मैले जति क्लिप , भिडियो हेरेको छु । त्यसले पनि म भन्न सक्छु आउँदो समयमा नेपाली फिल्मले धेरै राम्रो गर्छ । किनकी भारतमै १० वर्ष अगाडी फर्किनु भयो भने तामिल , तेलुगु , कन्नडा फिल्म गुमनाम झैँ थिए । अहिले पनि मलयालम फिल्म माथि आउन कोसिश नै गरिरहेको छ । कन्नडा फिल्ममा केजिएफ भन्दा अन्य नाम अहिले पनि दर्शकले सम्झिन सक्नुहुन्न । त्यसैले बजार पाएपछि कन्टेन गतिलो छ भने लोकप्रियता बढ्छ । यहाँको लोकेशन विश्वका अन्य दर्शकलाई फ्रेश लाग्न सक्छ । हामीले भिएफएक्सले पुरा गर्ने दृश्य यहाँ नेचुरल रुपमै पाइन्छ । त्यसैले हामीले नेपाली र हिन्दी भाषा मार्फत यहाँको फिल्मलाई ओटीटी वा भारतका हलमा मात्र लान सक्यौ भने त्यो बजार विस्तारका लागि राम्रो हुनेछ । मैले केहि ओटीटी कम्पनिलाई नेपाली फिल्मको ट्रेलर देखाउँदा उहाँहरु पनि इच्छुक पाएँ ।

नेपाली फिल्म निर्देशन गर्न किन तयार हुनुभएको हो ?
मैले भारतमा विज्ञापनहरु बनाउने गर्छु । त्यो हिन्दी मात्र नभई विभिन्न प्रान्तीय भाषामा समेत हुन्छ । नेपाली फिल्मको प्रोमो हेरेपछि म निर्देशनको लागि तयार थिएँ । तर , सायरा नै निर्देशन गर्ने निर्णय लिनुको कारण यसको कथा नै हो । मलाई प्रस्तुतकर्ता रघु परियार र निर्माता पुस्कर झाले सुनाउनु भएको कथाले पनि यसमा निर्देशक बन्न तयार गरेको हो ।

छायांकनको समयमा भाषाले समस्या निम्त्याउन सक्छ । समाधान के खोज्नु भएको छ ?
यो फिल्ममा नेपाल र भारतको संयुक्त कास्ट एण्ड क्रिउ हुनुहुनेछ । हामीसँग मुख्य सहायक निर्देशक नेपालकै हुनहुन्छ । जसले मलाई सहज हुनेछ । साथै हामीसँग काम गर्ने प्राय कलाकारलाई हिन्दी आउँछ । यसले पनि मलाई सहज हुन्छ । म केहि दिन नेपाल बस्दा नै केहि शब्दहरु जानिसके । यो फिल्मले मलाई नेपाली पूर्ण रुपमा सिकाउछ भन्नेमा विश्वस्त छु ।

फिल्मलाई दुवै भाषामा खिच्नु हुन्छ कि कुनै एकमा खिचेर डबिङ गर्ने सोच छ ?
हामीले यसबारे निर्णय लिएका छैनौँ । हामी यसलाई नेपालीमा खिचेर हिन्दीमा डबिङ गर्ने सोचमा छौँ । तर अब केहि प्रतिशत हिन्दी भाषामै समेत खिच्ने सोच बनाएको छु । यद्दपि यस विषयमा निर्णय लिन अझैँ बाँकी छ । हामी ओटीटी कम्पनिहरुसँग पनि सल्लाह गरिरहेका छौँ । यसबारे अर्को भेटमा आफ्नो निर्णय पक्कै बताउने छु ।

बलिउडको कुरा गर्दा केहि समय यता अप्ठ्यारो परिरहेको छ नी ?
हो , केहि समय यता बलिउडका फिल्महरु चलिरहेका छैनन् । यो एउटा समय हो । कोरोना महामारी पश्चात दर्शकहरु ओटीटीमा बढी सक्रिय हुनुभएको छ । जुन समयमा भिसिआर , सिडी , डिभिडीहरु भित्रिएका थिएँ । त्यतिबेला पनि यस्तै समयको सामना गर्नु परेको थियो । यो ओटीटीको समय पनि छिटै सकिन्छ । किनकी दर्शकले हलमा पाउने मनोरञ्जन सानो पर्दा वा मोबाईलमा पाउनु हुन्छ भन्ने मलाई लाग्दैन । अहिले चलिरहेको ब्रह्मास्त्रले दर्शकलाई हलसम्म ल्यायो । आउँदो केहि फिल्महरुबाट पनि म आशावादी छु । पछिल्ला केहि फिल्महरु राम्रो बन्न पनि सकेका थिएनन् । अब विस्तारै राम्रो हुन्छ भन्ने लागेको छ ।

ओटीटीले मात्र अप्ठ्यारो पारिरहेको हो ?
ओटीटी मात्र नभई फिल्म राम्रो बन्न नसक्नु पनि हो । तर अब हल पुग्ने केहि दर्शकलाई ओटीटी प्रदायकले रोकेका छन् । जस्तै मेरो ड्राइभरले छुट्टीमा फिल्म हेर्ने गरेको मलाई थाहा छ । तर केहि समय यता उहाँ फ्री समयमा मोबाईलमै फिल्म हेर्नु हुन्छ । हलमा प्रदर्शन भएको आठ हप्ता पश्चात अधिकाँस फिल्महरु डिजिटल रिलिज हुने हुँदा पनि फुर्सदको समयलाई दर्शकले हलमा खर्चेका छैनन् जस्तो लाग्छ । पछिल्लो समय तपाई कसैलाई पर्खिरहनु भएको छ भने पनि मोबाईलमा ओटीटीमा रहेका फिल्महरु हेर्न सक्नु हुन्छ । टिभी , ल्यापटप भन्दा मोबाईलमा बढी दर्शक जोडिनु भएको छ ।

बलिउडमा ‘प्रोजेक्ट मेकिङ’ कसरी गरिन्छ ?
त्यस्तो फरक छैन । जसरि यहाँ मेकिङ हुन्छ , त्यस्तै हो । बलिउडमा कथा तयार भएपछि हामीले स्टार कलाकारलाई सुनाउछौँ । जस्तै , सलमान खान , शाहरुख खान , अक्षय कुमार , अमिताभ बच्चन जस्ता कलाकारहरु तयार हुनुभयो भने लगानीकर्ता सजिलै पाइन्छ । स्टारको भ्यालु अनुसार नै हामीले लगानी जुटाउन सक्छौँ । त्यसपछि टिम तयार हुन्छ । हरेक डिपार्टको हेडले आ–आफ्नो जिम्मेवारी पुरा गर्नु हुन्छ । हामीले सबैसँग गरेको सम्झौता अनुसार कामलाई अगाडी बढाउछौँ ।

अन्य फिल्महरु गर्ने पनि केहि कुराकानी भएको छ ?
सायरा अगाडी अन्य फिल्म गर्ने सोच छैन । यो बनेर प्रदर्शन नहुँदासम्म म म्युजिक भिडियोहरु गर्छु तर फिल्म गर्दिन् । किनकी यसपछि मलाई नेपालीसँगै अन्य भाषाको फिल्म गर्ने बारे पनि आइडिया हुन्छ । निर्देशक भएपछि धेरै पक्षको जिम्मेवार बन्नु पर्ने भएकोले पनि अहिले यसमै केन्द्रीत छु । अक्टोबर अन्तिमबाट यसलाई अस्ट्रेलियामा छायांकन गर्ने तयारीमा छौँ । आउँदो वर्ष सन् २०२३ मा यो रिलिज पनि हुन्छ ।