कृष्ण लिलामा अटिजम पीडित भूमिकामा पुष्प


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ साउन

अभिनेता पुष्प खड्काले प्रदर्शनको तयारीमा रहेको चलचित्र कृष्णलिलामा अटिजम पीडित भूमिका निर्वाह गरेको बताएका छन् । भदौ ३ गतेबाट रिलिज हुन लागेको यो फिल्ममा आफुलाई अटिजम पीडित यूवाको भूमिकामा देख्न पाईने यी अभिनेताको कथन छ । यो फिल्म लिलासँग कृष्णको प्रेम र अटिजमका कारण समाजले ती यूवालाई गर्ने व्यवहारको वरिपरी घुमेको छ ।

भूमिकाबारे पुष्पले भनेका छन्, ‘यो भूमिका निक्कै चुनौतीपूर्ण थियो । फिल्मको अफर आउनसाथ मेरो दिमागमा केही मानिसहरु स्मरण भए र एकपटक छायाँकनमा भेटिएका एउटा भाईलाई सम्झेर मैले यो भूमिकालाई बुझ्ने अबसर पाएँ ।’

पछि तिनै पात्रलाई भेटेर आफुले अटिजम चरित्र ग्रहण गरेको पुष्पले खुलासा गरेका छन् । ती पात्रसँग उनका वुवा आमाले भेट्न नदिएपछि पुष्पलाई निके गाह्रो भयो । पछि ती पात्रले नै भेट्न चाहेपछि आफुले भेटेर अटिजमबारे थप बुझ्ने अबसर पाएको पनि यी अभिनेताले बताएका छन् ।

यो फिल्मका लागि आफुले कलाकार आशान्त शर्मासँग १५ दिनको अभिनय तालिम लिएका यी अभिनेताको कथन छ । बिगतमा थुप्रै फिल्म खेलेको पुष्पले अटिजम भूमिकामा आफु विश्वस्त नभएपछि अभिनय तालिम लिनु परेको रहेछ ।

पत्रकार लक्ष्मण सुवेदीले लेखेको यो चलचित्र ३ भदौबाट देशव्यापी रिलिज हुँदैछ । फिल्ममा पुष्प खड्का, श्रद्धा क्षत्रीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्मलाई दीपक ओलीले निर्देशन गरेका हुन् ।