सेरोगेसी आमाको कथामा बन्या माईकल अधिकारी


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ साउन

हुन त नेपालमा सेरोगोसी (पैसाको लागि आफ्नो कोख भाडामा लगाएर बच्चा जन्माएर अर्कालाई सुम्पने) आमा बन्ने कार्यलाई पाँच वर्ष अघि नै कानुनले निषेध गरेको छ । तर यही कथामा नयाँ चलचित्र ‘माईकल अधिकारी’ निर्माण भएको छ । गोपिकृष्ण मूभिजको व्यानरमा निर्माण भएको यो चलचित्रको बुधबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ । यसमा सौगात मल्ल र सृष्टि श्रेष्ठले पती पत्नीको भूमिका निभाएका छन् ।

पैसाको लागि आफ्नो कोख भाडामा लगाएर त्यही बच्चाको लागि अभिनेत्री सृष्टीले सँघर्ष गरेको कथा यो फिल्मको ट्रेलरमा समेटिएको छ । फिल्म हँस्यप्रधानसँगै गम्भिर बिषयमा केन्द्रित रहेको ट्रेलरले जनाएको छ ।

यो चलचित्रलाई रन्जित रौनियारले निर्देशन गरेका हुन् । यो चलचित्रमा सौगात र सृष्टीसँगै अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियारको मुख्य भूमिका छ । फिल्मलाई झापाको बिर्तामोडमा छायाँकन गरिएको हो ।

यो चलचित्रमा कमल राई र कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षत्रीको पटकथा तथा संवाद, मनोज केसीको प्रोडक्सन रहेको छ । फिल्मको कथा निर्देशक रन्जितले नै लेखेका हुन् ।

उद्दव पौडेलको प्रस्तुतीमा निरक पौडेल निर्माता रहेको सिनेमामा आगामी ३ भदौबाट रिलिज गरिने भएको छ । नेपालमा सेरोगेसी आमा कार्यलाई कानूनी रुपमा बन्देज गर्नु अघि नै आफुहरुको स्कृप्ट तयार गरेर चलचित्रको निर्माण थलेको निर्माता निरकले बताएका छन् ।