ब्युटी न्युज नेपाल
काठमाडौं, ३ साउन
पछिल्लो समय निकै रुचाईएका अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’को ट्रेलर मँगलबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । यो चलचित्रमा अभिनेता प्रदीपले गाउँको सरकारी स्कुलमा शिक्षकको जागिर खानका लागि गरेको सँघर्षको कथा रहेको ट्रेलर मार्फत दर्शाईएको छ । बाल्यकालमा माओबादी जनयुद्धमा आफ्नो बुबा गुमाएपछि उनलाई आमा सिताले हुर्काउँछिन् । बुबाको समेत मायाँ दिएर हुर्काएकी आमाको सपना पुरा गर्न प्रदीपले प्रकाश बनेर गरेको सँघर्षको कथालाई ट्रेलरमा समेटिएको छ ।
यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । यो चलचित्रलाई जुम्लामा छायाँकन गरिएको हो । अभिनेता प्रदीप जुम्ली युवाको भूमिकामा निकै फिट देखिएका छन् । चकलेटी नायकको उपमा पाएका प्रदीपले यसपटक आफुलाई जुम्ली युवाको चरित्रमा न्यायपूर्वक ढालेको ट्रेलरबाट प्रस्टिन्छ । उनको आमाको भूमिकामा अभिनेत्री दीया मास्के र प्रेमिकाको भूमिकामा नव अभिनेत्री रेणु योगी छन् ।
आगामी १० भदौबाट रिलिज हुने यो चलचित्रमा प्रदीप, दीया, रेणुसँगै प्रकाश घिमिरे, निरज पन्थी, राजन खतिवडा, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक लगायतको अभिनय छ ।
यो सिनेमामा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ । चलचित्र प्रकाशलाई बिनिस इन्टरटेनमेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । फिल्मलाई नेपाल र भारत सहित आठ देशबाट रिलिज गर्न लागिएको निर्देशक राउतले ट्रेलर रिलिज कार्यक्रममा बताए ।