ब्युटी न्युज नेपाल
काठमाडौं, १५ चैत
अहिलेका पुस्ताका लोकप्रिय संगीतकार राजेन्द्र बजगाईंले आफ्नो जन्म दिन अनाथ बालबालिकासँग मनाएका छन् ।
काठमाडौंको मुलपानी फुयाँलगाउँमा हास्य कलाकार सुलेमान शँँकर (इकु)ले विगत आधा दशकदेखि सञ्चालन गर्दैै आएको स्नेह बाल आश्रममा पुगेर संगीतकार बजगाईले आफ्नो जन्म दिन मनाएका छन् ।
त्यहाँ रहेको १६ जना बालबालिकाहरुलाई स्टेशनरी सामग्री, कापी, डटपेन, इरेजर, पेन्सिल तथा विभिन्न खाद्य सामग्री, फलफुल, मास्कलगायतका सामग्री संगीतकार बजगाईंले सो आश्रमलाई प्रदान गरे । केक काटेर त्यहाँ रहेका अनाथ बालबालिकाहरुलाई खाना खुलाउँदै उनले जन्म दिन मनाएका छन् ।
सो क्रममा संगीतकार राजेन्द्रले भने,‘बिगतमा जन्म दिन त धेरै पटक मनाईयो । तर आज आएर यी भाई बहिनीमाझ आफ्नो जन्म दिन मनाउन पाउँदा फरक अनुभव भएको छ र अबका दिनमा पनि यिनै भाई बहिनीहरुलाई सेवा गर्दै जन्म दिन मनाउने छु ।’ आउँदा दिनमा ती बालबालिकालाई संगीत तथा गायन कला सिकाउने चाहना पनि उनले सो क्रममा व्यक्त गरेका छन् ।
स्नेह बाल आश्रमका सञ्चालक तथा हास्य अभिनेता इकुले राजेन्द्रलाई जन्म दिनको शुभकामना दिँदै आफ्नो आश्रममा रहेका बालबालिकासँग जन्मदिन मनाउँदै उनीहरुका लागि केही सहयोग गरेकोमा धन्यबाद ज्ञापन गरे । यसरी कलाकार तथा सँगीतकर्मी र शुभचिन्तकको सहयोगले आफुले १६ जना बालबालिकालाई पाल्न सफल हुँदै आएको पनि उनले बताए ।
संगीतकार राजेन्द्रको जन्म दिन मनाउन आश्रम पुगेका अर्का गायक तथा संगीतकार भुवन प्यासीले पनि सो क्रममा अनाथ बालबालिकाहरुको स्कुल शुल्कको लागि भनेर ५ हजार रुपैयाँ सहयोग प्रदान गरे ।