ब्युटी न्युज नेपाल
काठमाडौं, ९ चैत
संगीत रत्न बरिष्ट संगीतकार शम्भुजीत बासकोटा सम्मानित भएका छन् । नेपाली संगीत क्षेत्रमा साँढे चार दशक भन्दा लामो समयदेखि निरन्तर योगदान दिएको भन्दै उनलाई काठमाडौंको थापाथली स्थित सेन्ट जेभियर कलेजले ‘फादर इ.एल.वाट्रिन मेमोरियल कल्चरल लाईफटाईम एचिभमेन्ट अवार्ड’बाट पुरस्कृत गरेको छ ।
पुरस्कार स्वरुप बासकोटालाई दोसल्ला ओढाएर ट्रफी, ताम्रपत्र र तान्पुरा प्रदान गरिएको छ । सो कलेजका संस्थापक फादर इ.एल. वाट्रिनको ८ औं स्मृति दिवसको अबसरमा बुधबार सो कलेजमा आयोजित सुर बाहिनी सँगीत यात्रा तथा सम्मान कार्यक्रममा बासकोटालाई सो पुरस्कारबाट सम्मानित गरिएको हो ।
उनलाई सम्मान गर्नु अघि बासकोटाको बारेमा तयार गरिएको बृत्तचित्र कलेजका विधार्थीहरुले कार्यक्रममा प्रस्तुत गरेका थिए । दर्शकको आग्रहमा सो सम्मान कार्यक्रममा केही गीतहरु सुनाउँदै अग्रज सँगीतकार बासकोटाले भने,‘मेरो अहिलेसम्मको कार्यको मूल्याँकन गर्दै आज यो पुरस्कारबाट पुरस्कृत गरिएकोमा संगीत सृजना गर्न अझ हौसला बढेको छ ।’
सेन्ट जभियर कलेजका फादर प्रिन्सिपल अगस्टिन थोमसले बासकोटाको योगदानको चर्चा गर्दै नेपाली संगीत क्षेत्रमा बिगत उनको योगदान अतुलनीय भएको बताए । यो सम्मान कार्य १७ वर्ष अघि फादर इ.एल.वाट्रिनले सुरु गरेको बिगत ८ वर्षबाट यो पुरस्कार उनको स्मृतिमा कला क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तिलाई प्रदान गरिँदै आएको पनि प्रिन्सिपल थोमसले बताए । बरिष्ट संगीतकार बासकोटाको योगदानको कदर स्वरुप यसबाट उनलाई पुरस्कृत गरिएको पनि थोमसले बताए ।
सो समारोहमा जेन्ट जेभियर स्कुलका विधार्थीहरुको गठन गरेको सँगीतिक व्यान्ड सुर बाहिनीका कलाकारहरुले विभिन्न गीतहरु प्रस्तुत गरेर करिब डेढ घन्टा दर्शकलाई सँगीतको स्वाद चखाए ।