ब्युटी न्युज नेपाल
काठमाडौं, १० चैत
एक नावालिक गायिकालाई जबरजस्ती करण गरेको अभियोगमा अभिनेता पल शाहलाई बिहिबार बेलुकाबाट जिल्ला कारागार तनहुँ पठाईएको छ । सो अभियोगमा उनलाई १५ फागुनबाट जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा राखिएको थियो ।
बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले शाहलाई जेल चलान गर्न आदेश दिएको हो । न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले बुधबार र बिहीबार भएको थुनछेक बहसपछि पललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । तत्काल प्राप्त प्रमाणबाट आरोपी कसूरदार देखिएको भन्दै अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
एक नाबालिका गायिकालाई विवाह गर्ने प्रलोभनमा पारेर पटक–पटक जबरजस्ती करणी गरेको भन्दै पलविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ती नावालिकका तर्फबाट उजुरी परेको थियो । सोही उजुरीको आधारमा अनुसन्धान गरेर उनलाई कारागार चलान गरिएको हो ।
यस्तै पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई एक लाख धरौटीमा साधारण तारेखमा रिहा गरिएको छ । उनी मतियारको रूपमा संलग्न भएको दोषी किटान भएका छन् ।
केहीअघि सञ्चारमाध्यममा सार्वजनिक भएका अडियो रेकर्डलाई अदालतमा प्रमाणका रुपमा पेश गरिएको छ । पलले तनहुँमा घटना भएको भनिएका बेला पीडितलाई बियर खान दिएर फेसवास लिएर आफ्नो कोठामा गएको जिकिर गरेका थिए । नवलपुरको गैंडाकोट रिसोर्टमा भने पीडितको कोठामा ‘हिजो डर लागेकाले राम्रोसँग सुत’ भन्नलाई मात्र गएको दाबी शाहले गरेका थिए ।
तनहुँमा शाहका म्यानेजर कृष्ण जोशीविरुद्ध पनि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । पीडितको बयान अनुसार जोशीले शाहसँग घुम्न जान र उनले भनेको मान्न भन्दै फकाउने गरेका थिए । अदालतले पललाई कारागार चलना गर्नका लागि अदालतमा गरेको बहसपत्र यस्तो रहेको छ ।