ब्युटी न्युज नेपाल
काठमाडौं, १३ फागुन
जीवन पछि पनि अरुलाई दृष्टी दिन सकिन्छ भन्ने सन्देश प्रस्तुतिका लागि नयाँ चलचित्र ‘थर्ड आई’ निर्माण भएको छ । करिब एक घन्टाको यो चलचित्र चितवनबाट निर्माण भएको हो ।
चलचित्रलाई युवा निर्देशक आसुतोष अधिकारीले निर्देशन गरेका हुन् । यो चलचित्र हेरेपछि नेत्र दानको महत्व दर्शकले बुझ्ने र मृत्युपछि आँखा दान गर्ने विश्वास निर्देशक अधिकारीले लिएका छन् ।
थर्ड आई चलचित्रमा सरोज दाहाल, कमला अधिकारी, रेनुका प्रधान, राज अधिकारी, केडी प्रशित, बिनोद मिश्र, सुरज पोखरेल, बिमला अधिकारी, राजीव न्यौपाने लगायतको मुख्य भूमिका छ ।
‘यो चलचित्रलाई अब यही फागुनको अन्तिम साताबाट प्रदर्शनी गरिने भएको छ । यो चलचित्रको उदेश्य भनेकै जीवनपछि आँखादान गर्न सबैलाई प्रेरित गर्नु हो ।’ यसका निर्माता बिनोद मिश्रले बताएका छन् । चलचित्र निकै राम्रो बनेकाले यसलाई दर्शकलाई मन पराउने पनि उनले बताए ।
थर्ड आईका कार्यकारी निर्माता केडी प्रशितले चलचित्र थर्ड आईबारे भने,‘सँसारमा रहेका मानिसहरु मध्य १० प्रतिसत मानिसले मात्र पनि मृत्युपछि आँखा दान गर्ने हो भने विश्वामा केही पनि दृष्टी बिहिन हुनु पर्दैन । त्यसैले नेत्र दानका लागि प्रेरित गुर्न नै यो चलचित्रको उदेश्य हो ।’ यो चलचित्रलाई उनले ब्यबसायिक भन्दा पनि सामाजिक कार्यको रुपमा लिएका छन् ।
बिमल लामाको संगीत रहेको थर्ड आईलाई विभिन्न च्यारिटी शो र राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सबमा प्रदर्शन गरिने छ । त्यसपछि मात्र व्यबसायिक रुपमा हलमा रिलिज गर्ने पनि कार्यकारी निर्माता प्रशितले बताए । यो चलचित्रको कथालाई साहित्यकार आरती अधिकारीले लेखेकी हुन् । जसमा रफी शाहको आलेख, सम्राट थापाको पाश्र्व संगीत, मन्दिल श्रेष्ठको सम्पादन, सुजन बिसीको छायाँकन छ ।
आफ्नो दुई आँखाबाट दृष्टी गुमेपछि अरु कसैसँग लिएको तेश्रो आँखाले पनि जीवनभर देख्न सकिन्छ भन्ने कुरालाई सबैमाझ पु¥याउन यो चलचित्र निर्माण गरिएको छ ।