शाहलाई लाइफ टाइम अचिभमेण्ट अवार्ड, सुबेदीलाई चलचित्र पत्रकारिता पुरस्कार


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ भदौ

नेपाल टेलिभिजनको संस्थापक अध्यक्ष एवम् अभिनेता निर्देशक नीर शाहलाई लाइफटाइम अचिभमेण्ट अवार्ड प्रदान गरिएको छ । शनिबार चलचित्र बिकास बोर्डको सभाहलमा सम्पन्न नेशनल टेलिफिल्म अवार्ड २०७७ को अवसरमा शाहलाई उक्त अवार्ड प्रदान गरिएको हो । नेपालमा टेलिभिजनको शुरुवात गर्न शाहले खेलेको नेतृत्वदायी भूमिकाको कदर स्वरुप उक्त अवार्ड प्रदान गरिएको आयोजक संस्था बक्स अफिस इन्टरनेशनल ग्रुपले जनाएको छ ।

यस्तै डेढ दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय पत्रकार बिष्णु प्रसाद सुबेदीलाई ‘चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । पत्रकारिताको माध्यमबाट समग्र टेलिभिजनको बिकासका लागि सुबेदीले खेलेको अहम् भुमिकाको उच्च मुल्याङ्कन गर्दै उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । टिभी फिल्मीमा स्टेशन म्यानेजर समेत रहेका सुबेदी स्याटेलाइट टेलिभिजनलाई लिड गर्नेहरु मध्ये कान्छो उमेरका पत्रकार पनि हुन् ।

संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पूर्वअध्यक्ष राजकुमार राई, पुर्वअध्यक्ष कृष्ण मल्ल कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ठ कलाकारहरु सन्तोष पन्त, मोहन निरौला, उत्तम केसी, रमेश बुढाथोकी, लय संग्रौला, सुरविर पण्डित, सरिता लामिछानेलगायत दर्जनौं कलाकार्मीको उपस्थिति रहेको थियो ।

समारोहमा बरिष्ठ चलचित्र पत्रकार प्रकाश सुबेदी, निर्देशक सुदर्शन थापा, कलाकार रबिन्द्र खड्कालगायतका केही चलचित्रकर्मीलाई बक्स अफिस इन्टरनेशनल ग्रुपको आजिवन सदस्यता सम्मान प्रदान गरिएको छ । यस्तै कार्यक्रमका बिभिन्न बिधामा टेलि चलचित्रहरुलाई उत्कृष्ठताको अवार्ड समेत प्रदान गरिएको थियो ।