ब्युटी न्युज नेपाल
काठमाडौं, १६ असार
माधव नेपालको समुहलाई पार्टीमा जसरी पनि जोड्न पर्छ भन्ने दवाव आएपछि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको १०औं महाधिवेशन आयोजक कमिटी विघटन गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले सो कमिटीको विघटन गरेको हो ।
१०औं महाधिवेशन आयोजक कमिटी विघटन गरेपछि नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहितको केन्द्रीय कमिटी सक्रिय भएको छ ।
एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार यो कमिटी भँगसँगै पार्टी अब माओबादीसँग एकिकृत हुनु भन्दा अघिको अबस्थामा पुगेको छ । पार्टीको कार्यसमितिलाई पुरानै अबस्थामा फर्काउन १८ असार (शुक्रबार) बस्ने केन्द्रीय कमिटीको बैठकले निर्णय गर्नेछ । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्यँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्व कायम हुनुपर्ने माग पार्टीभित्र भइरहेको थियो । उपाध्यक्ष वामदेव गौतमले समेत आयोजक कमिटी विघटन गर्दै २ जेठ २०७५ मा फर्किनुपर्ने अडान लिँदै आइरहेका थिए ।
बुधबार बसेको बैठकले आठ जना नेतालाई स्थायी कमिटीमा मनोनित गर्ने निर्णय गरेको छ । पूर्वमाओवादी केन्द्रतर्फका चार र एमालेका चार गरी आठ जना नेतालाई स्थायी कमिटीमा मनोनीत गरिएको हो । यी आठै जना नेता एमाले र माओवादी केन्द्रबीच एकता भएपछि स्थायी कमिटीमा रहेका थिए ।
स्थायी कमिटीमा मनोनित हुनेमा माओवादी केन्द्रतर्फका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा र एमालेतर्फका रघुजी पन्त, रघुवीर महासेठ, डा. बेदुराम भुषाल र विष्णु रिमाल रहेका छन् ।
स्थायी समितिमा मनोनित महासेठ र रिमाल प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् । पन्त र भुसाल भने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन् ।
यस्तै, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाक्रीसहित ११ नेताहरूलाई गरिएको कारबाही स्वतः निष्क्रिय भएको प्रवक्ता ज्ञवालीले बताए । महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्च अदालतले मान्यता नदिएको र पार्टी एकताका लागि समेत आधार भइरहेकाले महाधिवेशन आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटीलाई नै सक्रिय बनाइएको छ ।