निषेधाज्ञा खुकुलो हुँदै, भाडाको गाडी पनि जोर बिजोर प्रणालीमा चलाउने बारे छलफल


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ असार

११ हप्तादेखि जारी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई केही सहज बनाईने भएको छ । आईतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको छलफलले निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन गर्ने तय गरेको हो । १४ असारबाट यस अघिको निषेधाज्ञा सकिँदैछ ।

निषेधाज्ञाको मोडालिटीलाई अब कसरी अघि बढाउने भन्ने विषय थप छलफलपछि सोमबार बस्ने बैठकले टुंगो लगाउने भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सार्वजनिक सवारी साधनलाई सीमा तोकेर सञ्चालन गर्न दिने विषयमा छलफल भएको बताएका छन् ।

सार्वजनिक यातायातलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने कि केही दिन पर्खने भन्नेमा छलफल भएको तर टुंगो भने नलागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनाएका छन् । पराजुलीका अनुसार निषेधाज्ञाको मोडालिटीलाई परिमार्जन गर्ने भन्ने विषयमा छलफल भयो, सार्वजनिक सवारीलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने भन्ने विषय पनि उठेका छन्, तर टुंगो लागेको छैन ।

उनका अनुसार यसरी सीमा तोक्दा साना सवारी साधनभन्दा ठूला र दूरी कायम हुन सक्ने सवारी साधन सञ्चालन हुन सक्नेछन् । तर, सो विषय छलफल पछि मात्रै टुंगो लाग्ने उनले जनाएका छन् ।

पसल तथा व्यवसाय सञ्चालनका लागि पनि बारअनुसार भन्दा समय निर्धारण गरेर सञ्चालन गर्न दिने विषयमा छलफल भइरहेको छ । यसरी समय निर्धारण गर्दा कुन र कस्ता पसल कुन समयमा खोल्न पाइने भन्ने तोकिनेछ ।

यस्तै, राजनीतिक कार्यक्रम, सभा सम्मेलन, विवाह, व्रतबन्ध, सभा तथा जुलुसजस्ता कार्यक्रम भने अझै केही समय सञ्चालनमा रोक लगाइने तयारी भइरहेको छ । उपत्यकाका तीनवटै जिल्लामा बारका आधारमा पसल व्यवसाय सञ्चालन हुँदै आइरहेको छ । यसरी सञ्चालन गरिने पसल व्यवसायका लागि प्रशासनले समयसमेत निर्धारण गरिदिएको छ ।