ब्युटी न्युज नेपाल
काठमाडौं, २२ जेठ
अन्तत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्री मण्डल बिघठन गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा)का महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई सरकारमा सहभागी गराउँदै १७ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । नयाँ मन्त्रीहरुले राष्टपति विधादेवी भण्डारीबाट शुक्रबार बेलुका सपथ ग्रहण गरेका छन् ।
कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीमण्डल गठन गर्नु अघि आफ्नो मन्त्रीमण्डल बिघटन गरेर १३ जनालाई मन्त्री पदबाट हटाएका छन् । मन्त्रिपरिषद्का १ उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्यमन्त्रीलाई बिदा गरेका छन् । सरकारमा सहभागी चार जना मन्त्रीलाई भने यथावत् राखिएको छ ।
गठन गरेको १७ सदस्यीय मन्त्रिमण्डलमा जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । ओलीले जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएका छन् । महत्तो पाँचौ पटकमा उपप्रधानमन्त्री बनेका हुन् । महतोलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका छन् । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट हटाइएका रघुवीर महासेठलाई पनि यसपटक ओलीले उपप्रधानमन्त्रीमा नियुक्त गरिएको छ । यसपटक प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री महासेठलाई परराष्ट्र मन्त्रालयको जिम्मा दिएका छन् ।
प्रधानमन्त्री ओलीले यस अघि परराष्ट्र मन्त्री रहेका प्रदीप ज्ञवालीलाई मन्त्रीबाट हटाएका छन् । अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानुनमन्त्री लीलानाथ श्रेष्ठले भने निरन्तरता पाएका छन् ।
त्यस्तै, शरतसिंह भण्डारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अनिलकुमार झालाई खानेपानी र लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
विमलप्रसाद श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरियालाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा, चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
एमालेबाट शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीसँगै जसपाबाट चन्द्रकान्त चौधरीलाई ऊर्जा र रेनुका गुरुङलाई महिला बालबालिका राज्यमन्त्रीमा नियुक्त गरिएको छ । प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार, वन तथा वातावरण, कृषि, उद्योग वाणिज्य र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफैंसँग राखेका छन् ।
ओली सरकारको नयाँ मन्त्रीमण्डल
१.केपी शर्मा ओलीः प्रधानमन्त्री, रक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, वन तथा वातावरण, कृषि, उद्योग वाणिज्य र संघीय मामिला तथा सामान्य प्रशासन ।
२.विष्णुप्रसाद पौडेलः उपप्रधानमन्त्री, अर्थ
३.रघुवीर महासेठः उपप्रधानमन्त्री, परराष्ट्र
४.राजेन्द्र महतोः उपप्रधानमन्त्री, सहरी विकास
५.शरतसिंह भण्डारीः मन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइ
६.कृष्णगोपाल श्रेष्ठः मन्त्री, शिक्षा विज्ञान तथा प्रविधि
७.अनिलकुमार झाः मन्त्री, खानेपानी
८.शेरबहादुर तामाङः मन्त्री, स्वास्थ्य तथा जनसंख्या
९.लक्ष्मणलाल कर्णः मन्त्री, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण
१०.वसन्तकुमार नेम्वाङः मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
११.लीलानाथ श्रेष्ठः मन्त्री, कानुन न्याय तथा संसदीय मामिला
१२.विमलप्रसाद श्रीवास्तवः मन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा
१३.उमाशंकर अरगरियाः संस्कृति पर्यटन तथा नागरिक उड्ययन
१४.चन्दा चौधरीः मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१५.एकवाल मियाँः मन्त्री, युवा तथा खेलकुद
१६.चन्द्रकान्त चौधरीः राज्यमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइ
१७.रेणुका गुरुङः राज्यमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
ओलीले हटाएका एमालेका मन्त्रीहरु ः
१.उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल
२.परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,
३.स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी,
४.संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकाल,
५.कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल,
६.सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ
७.संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना,
८.वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले
९.महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो
१०.भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे
११.स्वास्थ्य राज्यमन्त्री नवराज राउत,
१२.सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर,
१३.उद्योग राज्यमन्त्री विमला विक