काठमाडौं उपत्यकामा निषेधाज्ञामा बिहान वर्कसप र दिउँसो निर्माण कार्य खोलियो


ब्युटी न्युज नेपाल
काठमाडौं, २० जेठ

काठमाडौं उपत्यकामा ३१ जेठसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । यस अघिको निषेधाज्ञा आज बिहिबार सकिँदैछ । अब काठमाडौं उपत्यका भित्र शुक्रबारबाट बिहान ६ देखि ९ बजेसम्म सवारी साधन मर्मत गर्ने वर्कसप बिहान ९ बजेसम्म खोल्न पाइने निर्णय भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका सिडियोले यस्तो निर्णय गरेका हुन् । त्यस्तै, निर्माण सामग्री बोक्ने सवारी साधन रातको समय चल्न पाउनेछन् । त्यस्ता सवारीलाई राति ९ बाट बिहान ४ बजेसम्म चल्न दिइने भएको छ ।

तर तरकारी तथा फलपूmल थोक बजारमा फुटकर बिक्री वितरण भने गर्न नपाइने निर्णय भएको छ । तरकारी फलफुल, खाद्यान्न दूध, डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना, डिपार्टमेन्टल स्टोर र वर्कसपले कम्तीमा दुई मिटर भौतिक दूरी कायम गर्नुपर्नेछ । यसैगरी, अनिवार्य सेनिटाइजर व्यवस्था र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । यदि तोकेबमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमन क्रममा भेटिएमा पसल बन्द गराउन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तोकिएकाबाहेक सार्वजनिक स्थलमा तरकारी तथा फलफुल बिक्री वितरण गर्न पाइनेछैन । औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै समय निर्बाध सञ्चालन गर्न पाइनेछ ।

यसैगरी निर्माण क्षेत्रमा काम रोकिएकाले निर्माणस्थलमै आवासीय कामदार राखेर काम गर्न दिने निर्णय भएको छ । निर्माणमा संलग्न कामदार कार्यरत स्थलभन्दा बाहिर जान पाउने छैनन् । उनीहरूको खाने बस्ने व्यवस्था निर्माण कम्पनीले नै गर्नुपर्नेछ ।

अनुमतिबिना सवारी चलाएको भेटिएमा दुईपांग्रेलाई २ हजार र अन्य सवारीसाधनलाई ५ हजारसम्म जरिमाना लिन सकिने जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी सूचनामा उल्लेख छ । निषेधाज्ञा आदेश व्यक्तिले उल्लंघन गरेमा प्रमुख जिल्ला अधिकारी तत्काल १ लाख रुपैयाँसम्म र संस्थाले उल्लंघन गरेमा ५ लाख रुपैयाँ जरिमाना गराउन सक्नेछन् ।

त्यस्तै, मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पटकैपिच्छे सय रुपैयाँ तिराउन सक्ने अध्यादेशमा उल्लेख छ । हिँडडुलमा रोक लगाएको अवस्थामा बिनाकाम निस्किनेलाई समेत २ सय जरिमाना तोकिएको छ । खोल्न छुट नदिइएका व्यवसाय खोलेको पाइए प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्मका लागि बन्द गराउन सक्नेसम्मको अधिकार अध्यादेशले दिएको छ । यसबाहेक अध्यादेशबमोजिम जारी मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैद र ३ लाख रुपैयाँसम्म जरिमाना हुनेछ ।