ब्युटी न्युज नेपाल
काठमाडौं, २४ भदौ,
काठमाडौं, ललितपुर र भक्तपुरका तीन जना जिल्ला प्रशासन प्रमुखको बुधबार बसेको बैठकले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका छन् । उनीहरुले गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि नयाँ आदेश जारी गर्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेका छन् ।
उनहरुको निर्देशन अनुसार २५ भदौ बिहिबारबाट निषेधाज्ञा खुकुलो बनाईएको छ । सामाजिक दुरी कायम गरेर सचेत भई काम गर्न काठमाडौंबासीलाई सिडियोहरुले अनुरोध गरेका छन् ।
निजी गाडीहरु जोर बिजोर प्रणालीमा चल्ने छन् । यस्तै जोर बिजोर प्रणाली अन्तर्गत नै काठमाडौं जिल्ला भित्र १६ सिट भन्दा बढी क्षमता भएका भाडाका गाडीहरु आधा मात्र यात्रु राखेर पूर्ण सुरक्षा पालना गरी सञ्चालन गर्न दिईने भएको छ ।
काठमाडौं उपत्यकाभित्र बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने भएको छ ।
स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
यसैगरी भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ ।
यसैगरी फर्निचर र अटो मोवाइल सम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न पाइने छ ।
डिपार्टमेन्टल स्टोर र सपिङ मल पनि निश्चित समय खुल्ने भएका छन् । डिपार्टमेन्टल स्टोर र सपिङ मलहरु हप्तामा ३ दिन बिहान ११ बजेसम्म र दिउँसो ४ बजेपछि सञ्चालन गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
काठमाडौं उपत्यकाभित्र अनलाइन डेलिभरी र टेक अवे सेवा खुल्ला भएको छ । दुबै सेवा मध्यान्ह बाह्र बजेदेखि साँझ सात बजेसम्मका लागि मात्रै खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल, ललितपुरका प्रजिअ नारायण प्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डे सम्मिलित बैठकले मेला, महोत्सव मनाउन र भोज, भतेर गर्न निषेध गरेको गरेको छ ।
उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
निषेधाज्ञा : के गर्न हुने, के नहुने ? (आदेशको पूर्णपाठ)