काठमाडौं उपत्यकामा १७ भदौसम्म थपियो निषेधाज्ञा


ब्युटी न्युज नेपाल
काठमाडौं १० भदौ,

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले काठमाडौं उपत्यकामा १७ भदौ सम्मका लागि अरु एक साता निषेधाज्ञा (कफ्र्यु) थपेका छन् । ३ भदौबाट सुरु भएको निषेधाज्ञा अरु एक साता थपिएको हो ।
सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थप गर्ने निर्णय गरेको बताएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार काठमाडौं उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले १७ भदौसम्म निषेधाज्ञा थप्ने निर्णय गरिएको हो ।

निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । विषेश कामले बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ । अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।