ब्युटी न्युज नेपाल
काठमाडौं, ९ भदौ
काठमाडौं उपत्यकामा विगत ६ दिन देखि निषेधाज्ञा जारी राख्दा पनि कोरोना सँक्रमित घटेका छैनन् । जसका कारण काठमाडौं उपत्यकाका तीन ओटै जिल्ला प्रशासन कार्यालयले फेरी एक साताको लागि निषेधाज्ञा थप्ने सिफारिस गरेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २३२ जनामा कोरोना सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौमा १९९ जनामा आज कोरोना देखिएको छ । यस्तै, ललितपुरमा आज १९ र भक्तपुरमा १४ जनामा कोरोना सँक्रमण देखिएको पनि उनले बताएका छन् ।
काठमाडौंका जिल्ला प्रशासन प्रमुख जनकराज दाहालका अनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार भएको बैठकले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।
पछिल्लो ६ दिनको काठमाडौंमा सँक्रमितको अबस्थाबारे छलफल गर्दा सँक्रमित नघटेपछि निषेधाज्ञा एक साता बढाउने निष्कर्षमा तीनै जना सिडियो पुगेका हुन् । उनीहरुले यहाँका मेयरहरुसँग पनि छलफल गरेका छन् । सबैको सहमतिमा एक साता निषेधाज्ञा थप्न सिफारिस पठाएकाले माथिबाट पारित भएर आएपछि निषेधाज्ञा थपिने सिडियोहरुको भनाई छ ।