निषेधाज्ञासँगै काठमाडौं सुनसान, घरबाहिर निक्लनेलाई धमाधम कारवाही


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ साउन

काठमाडौं उपत्यका आज बिहानै देखि सुनसान छ । कोरोना संक्रमितको संख्या बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि गएराति १२ बजेदेखि भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।

स्थानीय प्रहरी र वडा कार्यालयले बिहान ५ देखि ७ बजेसम्म खाद्यान्न र तरकारी किन्न खुला गरे पनि त्यसपछि प्रहरीले पसलहरु बन्दा गराए । अहिले टोल टोलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सडकमा निषधाज्ञा पालना गराउन करिव एक हजार बढी ट्राफिक प्रहरी खटाइएको छ ।

आज विहान ८ बजेसम्म १५० भन्दा बढी सवारी साधनलाई काठमाडौंबाट महानगरीय ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिईसकेको छ । उनीहरुलाई निषेधाज्ञामा सवारी साधन होल्ड गर्ने, अनुसन्धान गर्ने र कारवाही नै अगाडि बढाइने महाशाखाका प्रमुख भीम ढकालले बताएका छन् ।

यस्तै निषेधाज्ञा उलंघन गर्नेहरुलाई एक सय रुपैयाँ जरिवाना तथा एक महिना कैद, काममा खटिएकाहरुलाई बाधा पुर्याउन खोजेमा ६ सय रुपैया वा ६ महिना कैद हुने कानुनी व्यवस्था छ ।

त्यस्तै स्थानीय प्रशासन ऐन २०२८ बमोजिम, ५ सय रुपैयाँ जरिवाना वा एक महिनासम्म कैद गर्ने कानुनी व्यवस्था छ । भनेको नमान्ने अटेर गर्ने जो कोहीलाई कानुनी व्यवस्था अनुसार निषेधाज्ञाको उल्लंघन गरेको पाइएमा कानुन अनुसार नै कारवाही प्रक्रिया अगाडि बढाइने महानगरी ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालको भनाई छ ।

काठमाडौं उपत्याकाका तीन वटै जिल्ला प्रशासन प्रमुखले सर्वसाधारणको आवागमन पूर्णरुपमा निषेध गर्नका लागि संक्रमक रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ दुवैलाई कार्यान्वयनमा ल्याउन १७ बुँदे आदेश जारी गरिसकेका छन् ।