आज १०१६ जना सँक्रमित, कोरोनाबाट थप ७ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, २ भदौ

नेपालमा आज मँगलबार अहिलेसम्मकै सबैभन्दा बढी १ हजार १६ जनामा कोरोना सँक्रमित देखिएको छ । यती धेरै सँक्रमण एकै दिनमा यसअघि देखिएको थिएन । यस अघि ७ सयसम्मको सँख्यामा कोरोना देखिएको थियो ।

स्वस्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १०१६ मा कोरोना भाइरस कोभिड—१९ सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा २०५ जना रहेका छन् । काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ जना पुगेको पनि डा. गौतमले बताएका छन् ।

मृत्युदर पनि ह्वात्तै बढेको छ । नेपालमा आज कोरोना सँक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । काभ्रे, नबलपरासी, धनुषा, मोरङ, बाँके, र काँस्कीका १/१ जना पुरुष र तनहुँकी एक महिलाको कोरोना सँक्रमणबाट निधन भएको हो । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको डा. गौतमले बताए । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ११४ जना पुगेको छ ।

डा. गौतमका अनुसार हालसम्म कोरोना निको भएर डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार ५८० रहेको छ । देशभरमा क्वारेन्टिनमा रहेको सङ्ख्या १३ हजार ९२६ रहेको छ । देशभर जम्मा १० हजार ५६३ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।